एमालेले गण्डकीमा ३५ सिट जित्नुपर्छः पृथ्वीसुब्बा

समाधान संवाददाता २०८२ भदौ ६ गते १२:२३

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महिलाले अवसर पर्खिनुभन्दा आफैं योजना बनाएर नेतृत्वमा दाबी गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीको दोस्रो सम्मेलनमा सम्बोधन गर्दै उनले राज्य र सरकारका तहमा पद र जिम्मेवारी सहजै प्राप्त गर्न क्षमता देखाउने र जनता–नेतृत्वले देख्नेगरी काम गर्ने अभ्यास जरुरी भएको बताए ।

युवाको सक्रियता र अध्ययनशीलता अभावमा संगठन कमजोर हुने भन्दै गुरुङले जनसंगठन निर्माणमा नयाँ पुस्ताको आकर्षण बढाउन आग्रह गरेका थिए । ‘यहाँ आमैआमा हुनुहुन्छ तर छोरी–भान्जीलाई ल्याउन सकिएको छैन, त्यो कमजोरी हो, उहाँहरुलाई पाटीमा ल्याउने वातावरण तपाईं हामीले गर्नुपर्छ,’ उनले भने ।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले राजनीतिक आन्दोलन सकिएकाले अब सशक्तीकरण, समृद्धि र विकासतर्फ ध्यान दिनुपर्ने धारणा राखे । उनले आउने आमनिर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई योजनाबद्ध भएर लाग्न निर्देशन दिएका छन् । ‘२०८४ मा एमालेलाई सुविधाजनक बहुमत दिलाउने जिम्मेवारी तपाईंहरूकै काँधमा छ’, उनले भने ।

Advertisement

गण्डकी प्रदेशका ६० सिटमध्ये कम्तीमा ३५ सिट जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १ सय र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याएर एमालेले बहुमतको सरकार बनाउन सके आर्थिक विकासमा कायपलट ल्याउने सक्ने उनको भनाइ छ ।सोही अनुरुप नेता तथा कार्यकतालाई योजना बनाउन र परिचालित हुने उनले निर्देशन दिएका छन् ।

यद्यपि अहिले देखिएको चौतर्फी घेराबन्दीलाई एमालेले तोड्नुपर्ने उनले औंल्याए । पार्टी नेतृत्वसम्बन्धी प्रसंगमा गुरुङले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकै विकल्प खोज्ने बेला नभएको बताए । ‘अरुको उक्साहटमा आएर नेतृत्वमा दाबी गर्ने प्रवृत्ति पचाउन गाह्रो हुन्छ, एमालेमा अहिले ओलीकै बाटो सही छ,’ उनले भने ।

Advertisement

कार्यक्रममा नेकपा (एमाले) जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले महिला संघले सबैभन्दा बढी प्रतिनिधित्व हासिल गरेको संगठन भएकाले संगठन विस्तार र नीतिलाई जनस्तरसम्म पु¥याउने जिम्मेवारी अझ बढेको बताए ।

त्यस्तै, अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका हमालले रचनात्मक एकताका आधारमा जनसख्याकै अनुपातमा प्रतिनिधित्व सुनिश्चित हुने खालको संरचना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा संघ गण्डकी अध्यक्ष हीराकुमारी गिरी, सचिव खरमाया बिटालु, कोषाध्यक्ष अञ्जु केसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया