‘हरिलो’को यात्रा : भान्सादेखि उद्योगसम्म

धनबहादुर गुरुङ २०८२ भदौ ८ गते ७:३१

पोखरा । हरियोपरियो अनि लोकल (स्थानीय/रैथाने) को छोटो रुप हो, हरिलो । उर्जा सम्बन्धी व्यावसाय गरिरहेको पोखरा १६ अर्मलाका प्रकास आचार्य र उनकी रोशनी शर्माले फुराएको नाम हो यो । ६ वर्ष अगाडि व्यवासायकै दौरान रोशनीलाई फरक काम गर्ने सोंच पलायो ।

केही नयाँ गरौं भन्ने श्रीमतीको सोंचमा प्रकासले साथ दिए । दसैंतिहारको बेला सेलरोटी बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गर्न सके राम्रै हुने सल्लाह भएर उनीहरुले २०७६ भदौ अन्तिमतिरबाट व्यवसाय सुरु गरे । ‘म प्रकास सरको अफिसमा फ्रन्ट डेस्कमा काम गर्थें । त्यो बेला मलाई साह्रै बोर लाग्यो अनि अनि सरलाई कै अनुमति लिएर चाडबाडको समयमा सेलरोटी बनाएर अनलाईनमार्फत बेच्दा कस्तो होला भनेर सुरु गरिएको हो,’ रोशनीले सम्झिइन्, ‘त्यो बेला अनलाईन व्यापार भर्खरभर्खर सुरुआत भएको थियो । प्रकास सरको आइडियामै फेसबुक पेज बनायौं । अनि सेटरोटी पोलेर फोटो खिचेर पोस्ट गरेपछि हरिलोको अनलाइन व्यापार सुरु भयो ।’

फेसबुकमा राखेको पोस्टकै सेलरोटीको माग ह्वात्तै बढ्यो । घरमै भएको चामल र तेलको जोहोबाट सुरु भएको उनीहरुको व्यापार रोटीमा मात्र सिमित रहेन् । सानो लगानीबाट सुरु भएको हरिलोमा अहिले करौडौंको सामान (प्रविधि) जोडिएको छ । ‘सुरुमा हामीले होम डेलिभरी गरियो । अहिले आएर केहीले हामीलाइ खोज्दै आउनुहुन्छ,’ उनले भनीन्, ‘हामी सेलरोटीमा मात्र सिमित रहेनौं । मह, जेठोबुढो चामल, कुरिलोलगायत लोकल चिज गाउँबाट ल्याएर सरले स्कुटर चलाउनुहुन्थ्यो म पछाडि बसेर छोड्न जान्थ्यौं ।’

Advertisement

हरिलोको सेलरोटीले नै अरु लोकल चीजको व्यापार गर्ने सोंच बनाएको प्रकासले बताए । ‘हाम्रो रैथाने बाली र उत्पादनमा मुलधारका बजारमा त्यति पाइदैन् । त्यसलाई हामीले ल्याउनुपर्छ भनेर सुरुमा सेलरोटीबाट सुरु गरियो,’ प्रकासले सम्झिए, ‘त्यसमा पनि ग्रीन एण्ड लोकललाई मिलाएर हामीले ‘हरिलो’ नाम दिएका थियौं । सेलरोटीसँगै अचारको पनि माग आयो अनि अचार र अरुअरु रैथाने चीजमा हाम्रो ध्यान गएको हो ।’

Advertisement

आफूरुले बनाएको अचार पनि बजारमा माग बढ्न थाल्यो । उनीहरुले अचार बनाउने कच्चापदार्थ खरिद गर्न थाले । अचार बनाउनका लागि आवश्यक मेसिन खरिद गरे । सुत्केरी मसला, भैसी ध्यू, चिकनको अचार, मह, सिद्राको अचार, किवीलगायत स्थानीयस्तरमा उत्पादित बस्तु बिक्री गर्ने क्रममा उनीहरुलाई लकडाउनले समस्या बनायो । तर, त्यो समय झनै अनलाइन व्यापारले अझ बढि साथ दियो । कोभिड विरुद्धको सुरक्षाकवच भिरेरै उनीहरुले ग्राहकहरुलाई सेवा दिइरहे ।

घरको भान्साबाट सुरु गरेको व्यापार राम्रो हुन थालेसँगै ‘हरिलो एग्रो इन्डष्ट्री’ नाम दिएर कम्पनी दर्ता गरे । त्यसपछि पोखरा नदिपुरमा सानो टहरा बनाएर काम सुरु गरेको प्रकास बताउँछन् । त्यहाँ करिब २ वर्ष बसेपछि त्यसको ठाउँ साघुँरो भएपछि उनीहरुले पोखरा १६ दिपमा कम्पनी सारे ।

२०७८ कात्तिकमा दिपको ४ रोपनी जग्गा लिएर व्यापार विस्तारमा लागेको उनले बताए । बैंकबाट १५ लाख ऋण लिएर सामान थप्दै गए । ‘दिपमा हामीले लागानीको भोलुम पनि अलि बढायौं । नदिपुरमा भएको सिलिङ मेसिन, सानो खालको ड्रायर (भट्टी) लिएर आएरपछि धेरै सामान थपियो,’ उनले भने, ‘ठूलो खालको भट्टी नै ३ वटा बनायौं, मासु काट्ने मेसिन ३ वटा, प्याकेजिङ मेसिन, कुटानीपिसानी मेसिनसँग अरु हामीलाई चाहिने सामान थपेको थप्यै छौं ।’
दिपमा कम्पनी स्थापना गरेपछि ४ करोडभन्दा माथि लगानी भइसकेको प्रकासले बताए । व्यवसाय बढ्दै जाँदा लगानी थप्दै जाने उनले सुनाए । चिकेन तथा बफ सितन, बफ सुकुटी, चिकेन अचार, डल्ले खुर्सानीका उत्पादन, गुन्द्रुकको अचार र छोपहरु हरिलो एग्रोले उत्पादन गरिरहेको उनले जानकारी दिए । यि उत्पादन स्वदेशसँगै विदेश पनि जान थालेका छन् । विदेशमा बस्ने नेपालीहरुमा हरिलोका उत्पादन माग बढिरहेको उनी बताउँछन् । हरिलोले आफ्ना उत्पादन भाटभटेनी, बिग मार्टजस्ता चेनमार्टमा पनि राखेका छन् ।

यीबाहेक देशभर डिलर विस्तार गर्ने सोचका साथ काम गरिरहेको उनले बताए । कम्पनीले उत्पादन गर्ने अचारहरु स्थानीयस्तर मै उपलब्ध साग, मासु, डल्ले खुर्सानी, कुरिलो, करेला, टुसाबाट बन्छन् । बफ सितन र सुकुटीका लागि ठूलो मात्रामा मासु खपत हुने गरेको छ । हरिलो एग्रोले उत्पादन गरेका अचार तथा सुकुटी विदेशमा पनि माग बढेको एग्रोकी सञ्चालिका रोशनीले बताइन् । ‘यति ठूलो कम्पनी चलाउँछौं भनेर त कहिले पनि सोचेंको थिएनौं । स्वदेश तथा विदेशबाट अर्डर थपिदैं थपिदैं गएपछि बिजनेश बढाएका हौं,’ उनले भनीन्, ‘अहिले त मलाई एकदमै खुसी लाग्छ । २३ जना स्टाफलाई हामीले रोजगारी दिएका छौं । गर्न खोज्यो भने सकिन्छ । आफूलाई रुम भित्रमात्र समिति नराख्नुस् । मनमा ईच्छा भने भने जे काम पनि संभव हुन्छ ।’

हरिलोको आचार गत वर्ष मात्र लगभग ७० हजार युनिट अचार बिक्री गरेको प्रकाशले जानकारी दिए । ‘दैनिक १५ देखि २ हजार युनिट सिटनका आइटम बेच्छौं । अचारका लागि दैनिक ४ देखि ५ सय किलो मासु प्रशोधन हुन्छ,’ उनले भने, ‘हामीले ५ टन गुन्द्रुक बनाएर बचेका छौं । नेपाली रैथाने बालीको परिकार बनाएर बेचिरहेका छौं ।’ आफ्ना उत्पादनहरु आइएसओ प्रमाणित रहेको उनले बताए । नेपालमा हरिलो मात्र बफको हलाल सर्टिफाई भएको उनले दावी छ ।

हरिलोले चालु आर्थिक वर्षमा पाँच करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म साढे ३ करोडको कारोबार भएकोमा गत वर्ष २ करोड रुपैयाँको कारोबार गरेको थियो । सुरुको वर्ष ३ लाखको कारोबार गरेका उनले सम्झिए ।

आचार्य दम्पतिको हरिलो एग्रो इन्डष्ट्रीमा सरकारको पनि नजर पर्न थालेको छ । स्थानीय उत्पादनलाई प्रशय दिएको भन्दै पोखरा महानगरको नगर युवा परिषद्ले उत्कृष्ट कृषि उद्यमीका रुपमा हरिलोका सञ्चालक प्रकासलाई सम्मान गरेको थियो ।

सार्क ट्यांकमा छनोट भयो हरिलो
विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक’ को फ्रेन्चाइज ‘शार्क ट्यांक नेपाल’मा हरिलो एग्रो इन्डष्ट्री छनोट भएको छ ।
नवीनता, उद्यमशीलता र लगानीलाई प्रवद्र्धन गर्ने उद्देश्यल सञ्चालित उक्त कार्यक्रममा हरिलोका सञ्चालक प्रकाश आचार्य र रोशनी शर्माले उद्यमशीलताको आइडिया सुनाए थिए । उद्यमशीलताको आइडिया पिचमा उनीहरुलाई सार्क क्याविनेट श्रेष्ठले लगानी गर्ने भएका हुन् । क्याविनेटले हरिलोका लागि २ करोडको लगानी गर्ने भएका छन् ।

उक्त कार्यक्रममा पाँच जना शार्क (निर्णायक) छन् । यो प्लाटफर्म भारत, पाकिस्तान, बंगलादेशमा समेत लोकप्रिय छ । बेलायती टिभी कार्यक्रम ‘शार्क ट्यांक’ बाट इजाजत लिएर हिमालय टिभीले नेपाल संस्करण ल्याएको हो ।

एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् । शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया