अरिंगाल चाख्न बेनी आउने कि ?

म्याग्दी । म्याग्दीमा अरिंगालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिंगालको माग धान्न र पुर्याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दी अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगाल हुने गरेको बताए ।
‘स्थानीयमात्र नभएर अरिंगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,’ उनी भन्छन्, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगालको उपभोग बढेको छ ।’ थापाको होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगाल बिक्री हुन्छ ।
प्रतिप्लेट फ्राई अरिंगालको मूल्य ६ सयदेखि ७ सय ५० रुपैयाँसम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिंगालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिंगालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ ।
खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिंगालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।
गोलासहितको १ किलो अरिंगाल ३ हजारदेखि ३ हजार ५ सयमा बिक्री हुने गरेको अरिंगाल शिकारी तमबहादुर पुनले बताए । अरिंगाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा १ लाखभन्दा बढी आम्दानी गर्छन् ।
बेनी ६ जामुनाखर्कमा व्यवसायिक रूपमा अरिंगालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको सुनाए । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर १ क्विटल लार्भा बेच्ने लक्ष्य लिएका छन्।
एक गोलाबाट एक पटकमा ८ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक २ महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म व्यापार हुन्छ ।
अरिंगाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिंगाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिंगाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिंगाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ ।
रातो र कालो जातका अरिंगाल हुन्छन् । आगोले गोला पोलेर शिकार गर्दा अरिंगाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ । रासस









लेकसिटी कलेजमा ‘कार्निभल’ को तयारी
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
अन्नपूर्ण आविका विद्यार्थीलाई न्यानो कपडा सहयोग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया