डा. नवराज केसीले ल्याए दोस्रो कृति ‘स्वस्पर्श’

काठमाडौं । बालरोग विशेषज्ञ डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ काठमाडौंमा लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष कार्यक्रममा लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, आख्यानकार एवम् प्राज्ञ अमर न्यौपाने र लेखक डा. नवराज केसीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा आख्यानकार अमर न्यौपानेले पुस्तक ‘स्वस्पर्श’ मानिसको मनोवैज्ञानिक उपचारका लागि ओखतीका रुपमा आएको बताए । ‘स्वस्पर्श’ पुस्तक प्रेरणादायी मात्र नभएर प्रत्येक मानिसले पढ्नुपर्ने पुस्तक रहेको उनको भनाइ छ । ‘डाक्टरसँग भेट भएपछि नै मानिसको आधाआधी रोग निको हुन्छ,’ उनले भने, ‘त्यसमाथि डा. नवराज कथा सुनाएर उपचार गराउने व्यक्ति । कथा थेरापीमार्फत रोग निको पार्ने व्यक्ति । उहाँको यो पुस्तकले हामीलाई त्यस्तै उपचारको थेरापी गराउँछ । र मानसिक रुपमा निरोगी बनाउँछ ।’
सरल भाषामा सुललित ढंगले लेखिएको पुस्तक ‘स्वस्पर्श’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ । ‘पुस्तक पढ्दै गर्दा म थुप्रै ठाउँमा भावुक बनेको छु,’ उनले भने, ‘पुस्तकमा प्रयुक्त पात्रहरु जंगबहादुर, गर्बे दाइ, एक जोडी बाआमाको कोरोनाकालको कथा र ध्यारगाउँकी बच्चीको कथाले जो कोहीलाई भावुक बनाउँछन् ।’

अर्का वक्ता लेखक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पुस्तक सबैका लागि उपयोगी रहेको बताए । ‘मलाई त्यति धेरै साहित्यिक पुस्तक अध्ययन गर्न समय पुग्दैन,’ उनले भने, ‘पुस्तक ‘स्वस्पर्श’ मैले पढें । मेरा लागि यो पुस्तक असाध्यै उपयोगी लाग्यो । तपाईंहरु पनि यसको अध्ययन गरिहाल्नुहोस् । हामीले काठमाडौंमा बनाइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) मा पनि यो पुस्तक राख्छौं । बालबालिका र बिरामीहरुका लागि यो अति उपयोगी छ ।’ मनोवैज्ञानिक रुपमा विक्षिप्तहरुका लागि झनै विशेष रहेको उनले जनाए ।
कार्यक्रममा लेखक डा. केसीले ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक भएको बताए । जीवनमा आफूले थुप्रै राम्रा पुस्तक पढेको र नेपाली समाजलाई उपयोगी पुस्तक दिने मनसाय भएर आफ्नै जन्मस्थान कर्णालीको कथा आफूले लेखेको उनले जनाए । यो पुस्तक हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा रहेको उनको भनाइ छ । स्वस्पर्श सबै पुस्ता र सबै उमेर समूहका मान्छेको आफ्नै किताब भएको उनले बताए ।
पुस्तकमा के छ ?
पुस्तकभित्र कर्णालीका कथा र व्यथा मात्र छैनन्, जंगबहादुर र दुःखचाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे बीउखसीको कथा, ध्यारगाउँले, माया बाँड्ने जागिर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश भएका छन् । यी सबै कथा र पात्रहरूको आ‐आफ्नै विशेषता र महत्त्व बोकेका छन् ।
उतारचढावको समय तपाईं आफूसँग छटपट–छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूले आफैंलाई सम्हाल्न सक्ने न्यानो आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे । यी भुइँमान्छेका कथा पढ्दै गर्दा दुःखमा अल्झिएकाहरुले दुःखपारिसम्म पुग्ने जीवनमार्ग भेट्छन् । खुसी खोजिरहेकाहरुले पनि खुसीको वास्तविक शीतल चौतारी भेट्छन् ।
को हुन् डा. नवराज केसी
पैसाको पछि नलागेस्; पढाइ सकेर घर फर्केस्; आमाको ख्याल राखेस् ।
निधन हुनुअघि बुबाले दिएको यही निर्देशन पालना गर्दै आफ्नो गाउँ फर्किएका बालरोगविशेषज्ञ डा. नवराज केसी करिब एक दशकदेखि कर्णाली प्रदेशमै सेवारत छन् । कर्णालीका सबै जिल्ला पुगेर बारम्बार निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएका उनी लेखनमा पनि उत्तिकै सक्रिय छन् । आमा अर्थतन्त्र हाम्रो समाज विकासको बीउ हो भन्ने मूल सन्देश बोकेको पुस्तक शून्यको मूल्य उनको पहिलो कृति हो । बारम्बार ससाना बालबालिका र युवाको आत्महत्याका घटनाले द्रवित डा. केसीले फेरि यस्तो देख्नु नपरोस् भनी अध्ययनअनुसन्धान र बुद्ध अनि विज्ञानसहितका कथाले भरिएको स्वस्पर्श उनको दोस्रो कृति हो ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया