सूर्यदर्शन ठगी प्रकरण: मुख्य योजनाकार जीबी राईका जेठान बमजन १० लाख धरौटीमा रिहा

समाधान संवाददाता २०८२ भदौ ८ गते १८:५२

पोखरा ।

पोखराको चर्चित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका फरार प्रतिवादी तथा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेका उनलाई न्यायाधीश शंकरकुमार राईको इजलासले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो ।

बमजन सहकारीका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन् । उनले नै राईलाई पोखरा ल्याएर सहकारीको अध्यक्ष बनाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

करिब १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको सूर्यदर्शन ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये मुख्य अभियुक्त मानिएका जीबी राई, कुमार रम्तेल लगायत अझै फरार छन् ।

यसअघि पक्राउ परेकामध्ये सहकारीका पूर्वकोषाध्यक्ष भूपेन्द्र राई, व्यवस्थापक नेत्रप्रसाद पौडेल र पूर्वउपाध्यक्ष शिवराज कुमार हाल पुर्पक्षका लागि कारागारमा छन् । पक्राउ परेकामध्ये कैलाशकुमार दर्लामी र हेमन्त अधिकारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका थिए । बमजनको रिहासँगै धरौटीमा छुट्नेको संख्या तीन पुगेको छ ।

Advertisement

अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको र सहकारी सञ्चालनमा संलग्न नभएको दाबी गरेका छन् ।

फरार प्रतिवादी अदालतमा उपस्थित हुँदा जाहेरवालालाई जानकारी नदिएको भन्दै पीडितहरूले भने असन्तुष्टि जनाएका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, “जाहेरवाला हामी हौं, तर हामीलाई थाहै नदिई बयान लिइयो, यसमा हाम्रो असन्तुष्टि छ ।”

अदालतमा पीडितको पक्षबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेल तथा बमजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया