मस्तिष्क पक्षाघात भएका विद्यार्थीका लागि इन्द्रराज्य माविमा विशेष कक्षा
पोखरा समावेशी शिक्षामा देशकै अगुवा : मेयर आचार्य

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विभिन्न प्रकारका अपांगता भएका तथा विशेष अवस्थाका बालबालिकाका लागि विशेष कक्षा सञ्चालन गर्दै पोखरा समावेशी शिक्षामा देशकै अगुवा बनेको बताएका छन् । शुक्रबार इन्द्रराज्य माध्यमिक विद्यालयको वार्षकोत्सव कार्यक्रममा उनले महानगरले हरेक बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।
‘हाम्रा सन्तान सबै बराबर हुन्, ती सबैका लागि पढ्न पाउने व्यवस्था हुनुपर्छ’ भन्ने मान्यतामा महानगर रहेको उनले स्पष्ट पारे । देशभरका महानगरपालिकाहरूमध्ये पोखराले मात्रै सबै प्रकारका बालबालिकालाई लक्षित गरेर विशेष कक्षाहरू सञ्चालन गरिरहेको उनको दाबी छ ।
उनका अनुसार दृष्टिविहीन विद्यार्थीका लागि अमरसिंह स्कुलमा, सुन्न नसक्नेका लागि सिर्जना स्कुलमा र सुन्न तथा देख्न दुवै नसक्ने विद्यार्थीका लागि यो वर्षबाट छुट्टै कक्षा सुरु गरिएको छ ।
यसै वर्षदेखि इन्द्रराज्य माविमा मस्तिष्क पक्षाघात भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सुरु गरिएको छ । ‘त्यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ,’ आचार्यले भने । त्यस्तै, अटिजम भएका विद्यार्थीका लागि वडा नम्बर १७ को जानकी माविमा कक्षा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘अटिजम भएका परिवारका सदस्यहरुलाई थाहा हुन्छ त्यो पिडा, उनीहरुले पनि पढ्न पाउने अधिकार हो भन्नका लागि वडा नम्बर १७ को जानकी माविमा अटिजम भएका विद्यार्थीहरुको लागि पनि क्लास सुरु गरेका छौं,’ उनले भने ।
बालसुधार गृहमा रहेका १८ वर्षमुनिका बालबालिकाले पनि पढ्न पाउनुपर्छ भनेर सराङकोटमा महानगरले देशकै एकमात्र विशेष स्कुल स्थापना गरेको उनले बताए ।
उनले नियमित रूपमा विद्यालय जान नसक्ने वा अरू सरह कक्षामा बसेर पढ्न नसक्ने सबै बालबालिकाका लागि पोखराले पठनपाठनको व्यवस्था मिलाएकोमा जोड दिए । आचार्यले महानगर शिक्षा र स्वास्थ्य लगायतका हरेक क्षेत्रमा उत्तिकै ढंगले अगाडि बढेको दाबी गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया