सिर्जना बहिरा विद्यालयको विवाद समाधान गर्न छानबिन समिति गठन हुने, आन्दोलन स्थगित

पोखरा .
पोखराको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा देखिएको विवाद समाधानका लागि छानबिन समिति गठन हुने भएको छ । एक निर्दोष विद्यार्थीलाई बलात्कारको झुटा आरोपमा फसाइएको भन्दै सुरु भएको आन्दोलन, छानबिन समिति गठन गर्ने सहमतिपछि स्थगित भएको छ ।
पोखरा महानगरपालिका–२६ को वडा कार्यालयमा सोमबार बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । सहमतिसँगै विद्यार्थीहरूले पठनपाठन ठप्प पार्ने लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
विद्यालयमा अध्ययनरत एक बहिरा छात्रालाई जबर्जस्ती करणी गरेको झुटा आरोपमा सहपाठी विजय विकलाई फसाइएपछि विवाद चर्किएको थियो । विद्यालय प्रशासनले अभिभावकलाई समेत खबर नगरी प्रहरीको जिम्मा लगाउँदा विजयले सात महिनासम्म कारागार जीवन बिताउनुपरेको थियो ।
अदालतबाट निर्दोष साबित भएपछि विद्यार्थीहरूले विद्यालय प्रशासनले षड्यन्त्रपूर्वक विजयलाई फसाएको भन्दै न्यायको माग गर्दै आएका थिए । उनीहरुले ‘भोलि हामी पनि फसाइन सक्छौं’ भन्दै असुरक्षा महसुस गरेको बताएका थिए । यही त्रास र विद्यालयको अव्यवस्थाविरुद्ध विद्यार्थीहरूले प्रधानाध्यापक सुनील भण्डारीसहित पाँच शिक्षक तथा कर्मचारीलाई सरुवा गरी कारबाही गर्नुपर्ने मुख्य माग राखेर आइतबारदेखि आन्दोलन थालेका थिए ।
वडाध्यक्ष नरेन्द्र थापाका अनुसार, विद्यार्थीले उठाएका सबै समस्याको छानबिन गर्न महानगरको शिक्षा महाशाखालाई पत्राचार गरिनेछ । छानबिनपछि दोषी देखिए जोकोहीलाई कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । अध्यक्ष थापाले विद्यार्थीहरुलाई कुनै समस्या परे सिधै वडा कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरे ।
विद्यार्थी प्रतिनिधि भेषराज ढकालले छानबिनपछि आफ्ना मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने बताए ।
सोमबारको छलफलमा वडाध्यक्ष नरेन्द्र थापा, वडा सदस्य तीर्थबहादुर राजभाट, वडा शिक्षा समितिका चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङ, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अभिभावक र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया