बत्तीमुनिको अँध्यारामा म

बत्ती बलेको ठाउँ उज्यालो हुन्छ । झलमल्ल भएर संसार स्पस्ट देखिन्छ – बाटोघाटो नियाल्न सकिन्छ । तर कुनै बेला बत्ती बाले पनि सारा संसार नै अँध्यारो लाग्दो रहेछ । उज्यालोको छायाँभित्र हराएको त्यो अँध्यारो मैले आफ्नो जीवनमा महसुस गरेकी छु ।
मेरा हजुरबुबा विनुमहादेव तिवारी तत्कालीन पञ्चायती व्यवस्थामा मुखिया हुनुहुन्थ्यो । सामन्ती व्यवस्थामा शासक भए पनि हजुरबुबामा सामन्ती स्वभाव थिएन भन्थे गाउँलेहरु ।
बुढापाका भन्थे, ‘मुखिया मुखिया जस्ता छैनन्, आफ्नै गाउँको मान्छे जस्ता छन् ।’ सरकारलाई रिझाएर गाउँको हितमा काम गर्ने उहाँको तरिका कथा जस्तै सुनाइन्थ्यो । गाउँलेको हितमा स्कुल खोल्ने र आम नागरिकलाई शिक्षाबाट वञ्चित हुन नदिने उहाँको सोच महान् लाग्छ । सरौँखोला छत्तिसेमा उहाँकै नामको विद्यालय थियो–विनु प्रावि ।
मलाई सम्झना छ हजुरबुबाको नामको विद्यालयको कक्षा कोठामा ‘महेन्द्र माला’ पढेको । क, ख, ग, १, २, ३, अ, आ, इ जस्ता अक्षर चिन्दै थिएँ । अलि ठूलो कक्षामा गएपछि मात्र अंग्रेजी पढ्न पाइन्थ्यो । विद्यालयमा सबै शिक्षकले मलाई ‘मुखियाकी नातिनी’ भनेर चिन्नुहुन्थ्यो । सबैले मलाई माया गर्नुहुन्थ्यो । कक्षाकोठामा आफ्नै घर छिमेकका साथी हुने हुँदा म विद्यालय जान डराउदिनथेँ भन्नुहुन्थ्यो मेरी आमा । दिदीहरूसँगै स्कुल गएको मलिनो याद छ ।
मसँग पढेका मेरा दौँतरीहरू याद छ । तर अन्य साथी एवं शिक्षकहरू भने याद छैन । घर नजिकको विद्यालयमा कक्षा २ सम्म मात्र पढ्न पाएँ । यहीँबाट मेरो औपचारिक शिक्षाको अन्त्य भयो । घर नजिकको विद्यालय खोइ किन हो बन्द हुने अवस्थामा थियो । दिदीहरूले बरु अलि धेरै पढ्न पाउनुभयो । मेरै पालामा किन विद्यालय बन्द भयो होला ? रहर थियो नि पढ्ने तर पढेर के हुन्छ वा नपढे के घाटा हुन्छ थाहा थिएन । धेरैपछि मात्र जीवनका भोगाइले बुझायो– हेर्ने आँखाले मात्र होइन रहेछ । शिक्षाको आँखा कमजोर भए जीवन देख्न सकिँदोरहेनछ । पढ्न पाएको भए म के बन्थेँ, कस्तो बन्थेँ भन्ने लाग्छ ।
शिक्षा पनि आँखा हो । यो कमजोर हुनु हुँदैन ।
विनु प्राविमा पठनपाठन बन्द भएपछि म घरबारी गर्दै बस्नुप¥यो । हाम्रो गाउँ नजिक विद्यालय थिएनन् । तर हजुरबुबा र बुबाहरूले दाइहरूलाई खर्च दिएर घोडामा चढाएर विभिन्न ठाउँमा माध्यमिक शिक्षा आर्जन गर्न पठाउनुभएको थियो । केही दाजुभाइ स्याङ्जाको आरुचौर गएर पढ्नुभयो त केहीले विकसित वालिङमा पढ्नुभयो । बुबाहरूले पैसाको लोभ गरेर वा अन्य आधारमा हामी छोरीहरूलाई पढ्न रोक लगाई भेदभाव गर्नु भएको होइन । त्यति बेला छोरीहरूलाई घरबाट टाढा पढ्न पठाउने चलन थिएन ।
बुबाहरूले त्यो प्रथालाई चिर्न सक्नुभएन । तर मेरा दाजुभाइले आफ्ना छोरीहरूलाई गाउँबाट पर सहर पढ्न पठाउनुभयो । पाँच मिनेटमा नै विद्यालय पुगिन्थ्यो । विद्यालयको छेउबाट खोला बग्थ्यो । कक्षाकोठामा नजिकैबाट धान फलेको वासना आउँथ्यो । मलाई नयाँ किताब कापीको वासना मन पथ्र्यो । तर नयाँ किताब खासै पाइँदैनथ्यो । हजुरबुबा, ठुलोबुबा एवं बुबाहरू विद्यालयको बाटो हिँड्दा विद्यालय पस्नुहुन्थ्यो । शिक्षकहरूसँग कुरा गर्नुहुन्थ्यो । उहाँहरू जहाँ गयो त्यहीँ उज्यालो हुन्थ्यो । तर त्यो उज्यालो सबैका जीवनमा समान रूपमा पुग्न सकेन । मलाई लाग्छ– बत्तीमुनि पनि अँध्यारो हुन्छ र म त्यसै अँध्यारामा चुपचाप बसिरहेँ ।
अहिले ती दिन सम्झिँदा यही युग हो र जस्तो लाग्छ । मलिनो बन्दै छन् ती समय । धेरै कुरा याद पनि हुँदैन आजकल । बत्तिमुनिको अँध्यारामा बालापन बिताएको त्यो समयलाई अहिले शब्दमा वर्णन कसरी गरौं ? यदि त्यो विद्यालय बन्द नभएको भए ? मलाई पनि दाइहरूसँगै टाढा पढ्न पठाएको भए ? कहिले काहीँ कल्पना गर्छु – मेरो जीवन कस्तो हुन्थ्यो होला ? मेरो जीवनलाई हेर्ने आँखामात्र होइन प्रस्ट दृष्टि पनि हुन्थ्यो । सायद म कुनै फरक पेसा वा परिचयमा हुन्थेँ । सायद, म अर्कै पहिचानको मान्छे हुन्थें ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया