लोकनृत्यमा सूर्योदय स्कुल प्रथम
पोखरा ।
पोखराको बाटुलेचौरमा तीज मेलाको पहिलो दिन आयोजित विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । तीज मेला व्यवस्थापन समितिका अनुसार १० विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम द्वितीय, प्रगति स्कुल तृतीय र विन्ध्यवासिनी माविले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताका संयोजक रामबहादुर बानियाँले विजेताहरूको घोषणा गरेका थिए ।
त्यसअघि, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु कुमारी गुरुङले एक समारोहका बीच मेलाको उद्घाटन गरिन् । उनले बाटुलेचौर क्षेत्र कला, साहित्य र संस्कृतिको उद्गमस्थल भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताइन् । पोखरा वडा नम्बर १६ को समन्वय तथा तीज मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय बाटुलेचौर खेल मैदानमा मेला सुरु भएको हो ।
मेला उद्घाटनअघि बिहान महेन्द्र गुफादेखि खेल मैदानसम्म २५ वर्षमाथिका महिलाको दौड प्रतियोगिता सम्पन्न भएको थियो । ४० जना महिला सहभागी उक्त दौडमा विष्णु खनाल ५ मिनेट ३ सेकेन्डमा दुरी पूरा गर्दै प्रथम भइन् । त्यसैगरी, सम्झना गुरुङले द्वितीय र सविना बास्तोलाले तृतीय स्थान हासिल गरिन् । दौडमा सहभागी ७५ वर्षीया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । कार्यक्रम संयोजक उदिमबहादुर गुरुङका अनुसार बबिता गुरुङ, लक्ष्मी गुरुङ र चोखोमाया गुरुङ पनि उत्कृष्ट घोषित भए ।
तीज मेला व्यवस्थापन समितिकी संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न वक्ताले मेलाको ऐतिहासिक महत्वमाथि प्रकाश पारेका थिए । पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, हिमालय क्लब महिला उपसमिति संयोजक इन्दु भट्टराई, अन्नपूर्ण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमनकाजी गुरुङ, विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापा र कार्यक्रम संयोजक रामबहादुर बानियाँले यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गायक रामजी पौडेल, कृष्ण सुवेदी, सन्ध्या बिसी र गणेश ढकालले गीत प्रस्तुत गर्दा दर्शक नाचेका थिए भने डान्सर सुरुचि विकले तीज गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन समिति सदस्य भीम गायकले गरेका थिए ।
दौडको उद्घाटन साविक अर्मला गाविसका अध्यक्ष कुलप्रसाद भट्टराईले गरेका थिए । प्रचारप्रसार संयोजक मोहन थापाका अनुसार दौड सुरु हुनुअघि महेन्द्र गुफादेखि मैदानसम्म सडकपेटी र घरघरमा फूलको घडा राखेर स्वागत गरिएको थियो ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया