तीजको मौलिकता जोगाउन प्रतियोगिताले सघाउँछ: प्रदेश प्रमुख भट्ट

समाधान संवाददाता २०८२ भदौ १० गते २०:३९

पोखरा

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताहरूले मौलिक भाकालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पोखराको मालेपाटनमा सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११औँ मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय प्रविधिको विकाससँगै तीजको मौलिकतामाथि असर परेको उल्लेख गरे । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरूमा खाने प्रचलन बढ्दो छ,’ उनले भने, ‘सुसभ्य तीज गीतहरू सुन्नै मुस्किलको अवस्था छ ।’ यस्तो अवस्थामा सूर्यचन्द्र विकास समाजले आयोजना गर्ने प्रतियोगिताले मौलिक भाकाहरूलाई जीवन्त राख्न सघाउ पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

Advertisement

प्रदेश प्रमुख भट्टले संस्कृति समाजको समग्र जीवन पद्धति भएको बताउँदै युवाहरूले आफ्नो संस्कृतिलाई प्रवर्द्धन र रक्षा गर्नुपर्नेमा जोड दिए । ‘नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ,’ उनले भने, ‘समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ ।’

उनले आफूसँग भएको संस्कार, संस्कृति र रीतिरिवाज नै सन्ततिलाई हस्तान्तरण गरिने अमूल्य सम्पत्ति भएको उल्लेख गरे । उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेका पर्वहरूको संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको स्मरण गराए ।

Advertisement

कार्यक्रममा उनले २०५१ सालमा स्थापित सूर्यचन्द्र विकास समाजले साहित्य, कला, संस्कृति, स्वास्थ्य, वातावरण संरक्षण र महिला सशक्तिकरण जस्ता विविध क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया