बाटुलेचौर तीज मेला सम्पन्न, संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

समाधान संवाददाता २०८२ भदौ १० गते २०:४५

पोखरा

पोखराको ऐतिहासिक बाटुलेचौरमा दुई दिनसम्म सञ्चालन भएको ‘ऐतिहासिक तीज मेला–२०८२’ सम्पन्न भएको छ । तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको उक्त मेलामा विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए ।

मेलाको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले परम्परागत कला र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाली कला-संस्कृति विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्दै यसको जगेर्ना गर्न सामाजिक संघ-संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

Advertisement

तीज मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री थापाले विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कुल प्रथम, सरस्वती आदर्श विद्याश्रम द्वितीय, प्रगति स्कुल तृतीय र विन्ध्यवासिनी माविले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरूलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै, २५ वर्षमाथिको महिला दौड प्रतियोगितामा प्रथम हुने विष्णु खनाल, द्वितीय सम्झना गुरुङ र तृतीय सविना बास्तोलालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । दौडमा सहभागी ७५ वर्षीया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।

Advertisement

मेलाको मुख्य आकर्षणको रूपमा रहेको समूहगत तीज गीत प्रस्तुतिमा वडाका १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई जनही १० हजार रुपैयाँ र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको संयोजक रामबहादुर बानियाँले जानकारी दिए ।

पोखरा–१६ को वडा कार्यालय संरक्षक रहेको मेलाको अन्तिम दिन ख्यातिप्राप्त लोकदोहोरी गायक कृष्ण सुवेदी, गणेश ढकाल र सन्ध्या बिसीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू छमछमी नाचेका थिए । मेला सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ-संस्थालाई मायाको चिनो प्रदान गरिएको प्रचारप्रसार संयोजक मोहन थापाले बताए ।

कार्यक्रममा रामबहादुर बानियाँले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन समितिका सदस्य भीम गायकले गरेका थिए । मेलालाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका थिए । दुवै दिन मेला हेर्न पोखराका विभिन्न स्थानबाट दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया