काँहुमा निर्माणधिन ‘पोखरा ग्रेट ट्रेल’ अन्तिम चरणमा

समाधान संवाददाता २०८२ भदौ ११ गते ११:१६

कास्की ।
पोखरा महानगरपालिका ११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ ।


उक्त ट्रेलमा ४ हजार ५ सय सिँढीमध्येमा अब केहीमात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म १ किमी ८ सय मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्वपूर्ण र आकर्षक रहेको बताए । फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Advertisement


‘पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,’ नगर प्रमुख आचार्यले भने ।


निर्माण समिति अध्यक्ष तीर्थबहादुर बस्नेतले पदमार्गमा ढुंगा काटेर बिच्छ्याइएको सुनाए । पदमार्गका विभिन्न ४ स्थानमा विश्राम स्थल हुने छन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण गरिनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिनेछ ।

Advertisement


पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिब ४ सय फलफूलका बिरुवासमेत रोपिएको छ ।


पोखरा महानगरको २ लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँस लगायतका विरुवा रापिएको हो ।

तपाईको प्रतिक्रिया