वृक्षारोपण र चौतारी पुनर्निर्माणसहित विशाल बचतको रजत जयन्ती सम्पन्न

समाधान संवाददाता २०८२ भदौ ११ गते १९:११

पोखरा । विशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ। यस अवसरमा संस्थाले पोखरा-१८ स्थित राष्ट्रिय विभूति पार्क परिसरमा वृक्षारोपण र चौतारी पुनर्निर्माण गरेको छ। २०५७ भदौ ११ मा तत्कालिन सहकारी डिभिजन कार्यालय कास्कीमा दर्ता भएको यो संस्थाले २५ वर्ष पूरा गरेको हो।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, जिल्ला सहकारी संघ लिमिटेड कास्कीका महासचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रदेश प्रमुख नरेश पाण्डे र कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष शेर बहादुर कार्कीको उपस्थिति थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भुवन नेम्कुल, लेखा संयोजक रामकृष्ण दुवाडी, संचालक समितिका सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारी वर्गको सहभागिता थियो।

संस्थाका सचिव प्रदीप कुमार मुल्मीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष इन्द्रराज अर्यालले स्वागत मन्तव्य दिएका थिए भने संचालक इउलकुमारी पुनले सहकारी सिद्धान्त वाचन गरेकी थिइन्।

Advertisement

वृक्षारोपण तथा चौतारी पुनर्निर्माण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कास्की बचत संघका अध्यक्ष शेर बहादुर कार्कीले विशाल बचतले २५ वर्षदेखि सञ्चालन गर्दै आएका असल अभ्यासहरू सबै वित्तीय सहकारीहरूले अनुसरण गर्न जरुरी रहेको बताए। सहकारी बैंकका प्रदेश प्रमुख नरेश पाण्डेले सहकारी संस्थाहरूले गरिरहेका असल एवम् नवीन कार्यहरूको प्रचारप्रसार कम हुँदा नकारात्मक समाचारको प्रचार बढी भएको बताए। जिल्ला सहकारी संघ लिमिटेड कास्कीका महासचिव दीपक प्रकाश आचार्यले सहकारी सिद्धान्तअनुरूप विशाल बचतले समुदाय एवम् वातावरणप्रतिको उत्तरदायित्व बहन गरी प्रशंसनीय कार्य गरेकामा धन्यवादसहित निरन्तरताको शुभकामना व्यक्त गरे। उक्त कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण तिमिल्सिनाले संस्थाले विगत लामो समयदेखि वृक्षारोपण, सरसफाइ, चौतारी पुनर्निर्माण लगायतका कार्यहरूमा पार्क व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको र आगामी दिनमा समेत यस प्रकारका सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा लागिरहोस् भन्दै यस प्रकारका कार्यक्रमहरूमा आफ्नो सदा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

अन्त्यमा, संस्थाका अध्यक्ष शिव शर्माले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आभार एवम् धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यसै प्रकारको सक्रिय सहभागिताका लागि अनुरोध गर्दै कार्यक्रम समापन गरे।

Advertisement

तपाईको प्रतिक्रिया