गण्डकी विश्वविद्यालयमा ४ करोड १५ लाखको लागतमा परीक्षा नियन्त्रण कार्यालय भवन निर्माण हुँदै

समाधान संवाददाता २०८२ भदौ ११ गते १९:३३

पोखरा
गण्डकी विश्वविद्यालयले ४ करोड १५ लाख २४ हजार ३११ रुपैयाँको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण सुरु गरेको छ। पोखरा महानगरपालिका–३२ मालेपाटनमा निर्माण हुने उक्त भवनको शिलान्यास गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले एक समारोहबीच गरे।

मन्त्री थापाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोको रूपमा विकास गर्न सुझाव दिए। उनले जग्गा प्राप्त गर्नका लागि स्थानीय र वडाको भूमिका महत्वपूर्ण रहेको, समयसापेक्ष गुणस्तरीय भवन, अपाङ्गमैत्री शौचालय, कोठा निर्माणले सहयोग पुर्‍याउने र स्थानीयलाई रोजगारीको अवसर दिन आग्रह गर्दै निर्माण कम्पनीलाई समयमै निर्माण कार्य र गुणस्तरमा समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिए।

कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक उत्तरदायित्वमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाए। उपकुलपति प्रा.डा. नवराज देवकोटाले नेपालमै पहिलो पटक ‘मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी’ कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै नयाँ भवनले परीक्षा प्रणाली थप प्रभावकारी हुने बताए।

Advertisement

सोही अवसरमा उपकुलपति प्रा.डा. नवराज देवकोटाले स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको र भवन शिलान्यासले थप परीक्षा गोपनीयता, संवेदनशीलता, नियन्त्रण र सुरक्षा प्रणाली मजबुत हुने तथा परीक्षा नियन्त्रण कार्यालयको औचित्य पूरा हुने बताए। विश्वविद्यालयले स्नातक तहका आइटी, फार्मेसी, बीबीए, स्पोर्ट्स म्यानेजमेन्ट र आर्ट्स, कानुन र ‘मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी’ (एआइ) संकाय गरी ६ कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल विश्वविद्यालयमा ५५ जिल्लाका ५ सयभन्दा बढी विद्यार्थी छन्।

वडाध्यक्ष अक्कलबहादुर कार्कीका अनुसार विश्वविद्यालयको स्वामित्वमा ५२६ रोपनी जग्गा छ जहाँ राष्ट्रिय आविष्कार केन्द्रसहित शैक्षिक पूर्वाधार विकास हुँदैछ। भवन निर्माणको जिम्मा श्रेष्ठ एसकेआर वस्तु निर्माण कम्पनीले पाएको छ भने आगामी असार २०८३ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको सञ्चालन सहायक प्रशासक डोलराज सुवेदीले गरे।

Advertisement

तपाईको प्रतिक्रिया