पोखराबाट अष्ट्रेलिया सिधा उडानको तयारी, सिचुवान र भुटान एयरलाइन्स पनि आउँदै

समाधान संवाददाता २०८२ भदौ १२ गते ५:५९

काठमाडौं

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियासम्म सिधा हवाई उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाको सिधा उडानका लागि तयारी थालेको हो । उक्त उडानका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानका लागि अनुमति मागेको पुष्टि गरे । उनका अनुसार, आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अनुमति दिने तयारी भइरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर महिनाबाटै उडान सुरु गर्ने योजना बनाएको छ ।

Advertisement

‘सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ,’ सूचना अधिकारी भूलले भने, ‘यस विषयमा अनौपचारिक कुराकानी भएको छ र औपचारिक प्रक्रिया टुंग्याउन द्विपक्षीय छलफल भइरहेको छ । छिट्टै उडानको तालिका पेस होला ।’ यो उडान सञ्चालनमा आएमा अष्ट्रेलिया आवतजावत गर्ने नेपालीहरूलाई ठूलो सहजता हुने विश्वास लिइएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले २०८० असारमा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ का लागि पोखरामा चार्टर्ड उडान गरेको थियो ।

Advertisement

पोखरा विमानस्थलका लागि अर्को सुखद खबरमा, भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्स (टासी) ले पनि चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारोका लागि आगामी सेप्टेम्बर २८ र अक्टोबर महिनामा गरी चार दिन चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

भूलका अनुसार, यी चार्टर्ड उडानहरू सफल र दिगो भएमा भविष्यमा ‘फिफ्थ फ्रिडम’ अधिकार प्रयोग गरी पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो रुटमा नियमित उडान गर्ने एयरलाइन्सको योजना छ ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले मात्रै हप्ताको एक दिन काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ रुटमा नियमित उडान गरिरहेको छ । २०७९ पुस १७ मा उद्घाटन भएको यो विमानस्थलमा सिचुवान र भुटान एयरलाइन्सको आगमनले विमानस्थल थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।

भैरहवामा पनि जजिरा र थाई एयर एसियाले उडान भर्दै

यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । विगतमा उडान स्थगित गरेका दुवै एयरलाइन्सले आगामी अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेड्युल’ मा उडान गर्ने तयारी गरेका हुन् ।

थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने योजना बनाएको छ भने जजिरा एयरले पनि विन्टर सिजनमै उडान थाल्ने तयारी गरेको छ । यी दुई एयरलाइन्सको पुनरागमनले भैरहवा विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडानको चहलपहल बढ्ने विश्वास गरिएको छ ।

सरकारको आकर्षक छुट सुविधा

पोखरा र भैरहवामा विदेशी वायुसेवालाई आकर्षित गर्न सरकारले विभिन्न आकर्षक छुट तथा सुविधासमेत दिएको छ । २०८१ साउन २८ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लाग्ने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट दिइएको छ ।

यसका साथै, विमानको पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा नेपाल वायुसेवा निगमले दिने ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यिनै सुविधाहरूका कारण विदेशी वायुसेवा कम्पनीहरू यी विमानस्थलमा उडान भर्न आकर्षित हुन थालेका हुन् ।रासस

तपाईको प्रतिक्रिया