सत्कर्म नगरी मलाई भेट्न स्वर्ग नआउनू !

रवीन्द्र माकाजु २०८२ भदौ १२ गते ११:१३

पोखरा रानीपौवा माछापुच्छ्रे टोलमा भव्य तीन तलाको मनमन्दिर (भवन) स्थापना गरिएको छ । त्यो मन्दिर स्थापना गरिनुको पछाडि एउटा मानवीय प्रेम कहानी जोडिएको छ । मन मन्दिर भवनका संस्थापक ७८ वर्षीय विष्णुविक्रम जिजी बताउँछन् – ‘मेरी धर्मपत्नी चन्द्रकला जो समाजसेवामा अति नै रुचि राख्दथिन् ।’ उनको न्युजिल्यान्डमा स्वास्थ्य उपचार चल्दै थियो विसं २०७२ सालमा । तीन छोरीकी आमा चन्द्रकलाले २०७२ फागुन २० गते यस धरतीबाट बिदा हुनु अगाडि आफ्ना जीवनसंगी विष्णुविक्रमलाई भनिन्m ‘म तपाईंलाई छाडेर स्वर्गलोक जाँदैछु । मेरो अन्तिम इच्छा आफ्नो जन्मस्थल पोखरा रानीपौवामा दीनदुःखीका लागि एउटा आश्रयस्थल बनाउनु अनि सामाजिक सेवा गरेर मात्रै तपाईं मलाई भेट्न स्वर्ग आउनु ।’


यो भनाइले विष्णुविक्रमको दिल पग्लियो । न्युजिल्यान्डमा रहँदा यसका लागि अब के गरुँ कसरी सामाजिक सेवा गरुँ भन्ने भावनाले उनी छटपटिए । २०२५ सालदेखि जीवन संगिनीका रूपमा आएकी चन्द्रकलालाई उनी हृदयदेखि नै माया गर्ने गर्दथे । उनले पोखरामा यस प्रयोजनका निम्ति जग्गा खोज्ने काम गर्दै रहे । भने जस्तो जग्गा पाइएको थिएन । विसं २०७९ असारमा करिब २.५ करोडले अहिले मनमन्दिर भएको जग्गा किनेर २०७९ साउन २५ गते जग पूजा पनि गरे । २०८० सालमा मनमन्दिर भवन तयार गरेपछि विभिन्न देवीदेवताका प्रतिमाहरू राख्ने कार्य सुरु भयो । हाल यहाँ भगवान् शिव, पार्वती गणेश, भगवान् बुद्ध र राधाकृष्णको प्रतिमा स्थापित छन् ।


विष्णुविक्रम ब्रिटिस आर्मीका भूपू सैनिक हुन् । खरो स्वभावका विष्णुविक्रमले यस मनमन्दिरबाट विभिन्न सेवा कार्य गर्न एरोबिक्स, जुम्बा र इलेक्ट्रिक मसाज आई मसाज मेसिन सेवा उपलब्ध गराएका छन् । जो निःशुल्क रूपमा जोसुकैले सेवा लिन सक्दछन् । यस पुण्य कार्यका लागि उनले हालसम्म ५ करोड खर्च भएको उनले बताए ।

Advertisement


विसं २००९ माघ १६ गते पोखराको रानीपौवामा जन्मिएकी चन्द्रकला प्रधानको विसं २०२५ सालमा विष्णुविक्रम जि.एम. सँग विवाह भएको थियो । लामो समय ब्युटिसियन (शृंगारकला) मा निपुण चन्द्रकला विभिन्न देशको भ्रमण पनि गरेकी थिइन् । पोखरामा यो मनमन्दिर स्थापना भएपछि नियमित रूपमा आरती, प्रवचन, ध्यान, धार्मिक, सामाजिक सेवाका गतिविधिहरू गर्न सकिने मन मन्दिरका संस्थापक विष्णुविक्रम जिजी बताउँछन् । उनले भने, ‘सामाजिक सेवाकार्यमा जुटेको यो मनमन्दिरले दीनदुःखी पोखरेलीहरूको सेवा गर्न आतुर छ ।’

Advertisement

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया