पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष ओली

समाधान संवाददाता २०८२ भदौ १२ गते ११:३३
फाइल तस्बिर

काठमाडौं

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी र नेतृत्वविरुद्ध लागेको देख्दा आफू आश्चर्यमा परेको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा आफूलाई उद्धृत गर्दै आएका समाचार ‘भ्रामक र मनगढन्ते’ भएको भन्दै उनको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गरी वास्तविक भनाइ सार्वजनिक गरेको हो ।

एमालेको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिका सम्बन्धमा गलत समाचार सम्प्रेषण भएको सचिवालयको भनाइ छ ।

Advertisement

अध्यक्ष ओलीले ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ भनेर नभनेको सचिवालयको दाबी छ । सचिवालयले उक्त भनाइलाई स्वार्थप्रेरित र भ्रामक भन्दै आपत्ति प्रकट गरेको छ ।

सचिवालयका अनुसार, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् सदस्यता नलिई सञ्चारमाध्यम र अन्य नेताहरूमार्फत सक्रिय राजनीतिमा आउन खोजेको भन्दै आलोचना गरेका थिए । ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

Advertisement

उनले पार्टी केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता दिँदा उनी र आन्दोलनकै सम्मानमा आँच पुग्ने निष्कर्ष निकालेको जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष ओलीले भने, ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन ।’

प्रधानमन्त्रीको सचिवालयले उक्त भेटघाट कुनै प्रशिक्षण नभई अनौपचारिक रहेको जनाउँदै वास्तविकता नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया