नवराज अधिकारीको उपचारार्थ मर्दिखोला समाज यूकेको सहयोग

समाधान संवाददाता २०८२ भदौ १३ गते २०:०४

पोखरा । मर्दिखोला समाज यूकेले स्कुटर दुर्घटनामा घाइते भएका माछापुच्छ्रे गाउँपालिका–८ निवासी नवराज अधिकारीको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को आयोजनामा शनिबार वडा कार्यालयमा भएको कायक्रममा मर्दिखोला समाज यूकेका अध्यक्ष भगवान गुरुङले अधिकारीको उपचारार्थ नगद २ लाख ७५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकम प्राप्त गरेपछि अधिकारीले आफ्नो खुट्टा छिटो निको हुने विश्वास व्यक्त गरे । सहयोग रकमका लागि पहल गर्ने वडा कार्यालय परिवार र रकम जुटाउने मर्दिखोला समाज यूकेले आफुलाई ठूलो गुन लगाएको उनले बताए ।
साउन २४ गते स्कुटर दुर्घटनामा परी अधिकारीको देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो । उपाचार अभावमा अपांग हुनसक्ने अवस्था आएपछि माछापुच्छ्रे गाउँपालिका–८ ले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो । वडाअध्यक्ष राम गुरुङको अपिलसँगै मर्दिखोला समाजका सन्तोष गुरुङका समन्वयमा अध्यक्ष भगवान गुरुङ, उपाध्यक्ष कुमार गुरुङ र महासचिब दिपक गुरुङले नेतृत्व लिइ उक्त सहयोग रकम संकलन गरिएको थियो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले ‘सेवा नै धर्म, मानवता नै सबैभन्दा ठूलो मूल्य’ भन्ने भावनासहित मर्दिखोला समाज यूकेले विगतदेखि नै मर्दिखोला क्षेत्रका पीडामा परेका परिवारलाई सहयोग गर्दै आएको बताए । सहयोग अभियानमा साथ दिने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दै उनले भने, ‘समाजमा मानवताको भावना जीवित रहँदासम्म कसैलाई पनि एक्लै पीडा भोग्नुपर्ने छैन ।’
कार्यक्रममा माछापुच्छ्रे गाउँ कार्यपालिका सदस्य मनकुमारी तामाङ, वडा सदस्य चोकप्रसाद दाहाल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा. सुबास गुरुङ, टोल विकास संस्थाका अध्यक्ष तारानाथ पहारी, कुलबहादुर विकलगायतले मर्दिखोला समाज यूके गाउँका दिनदुखी र असहायका दुखमा भगवान बनेर उभिरहेको बताएका थिए ।
वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडासचिव विष्णुप्रसाद भट्टराई र भने स्वागत वडा सदस्य अर्जुन परियारले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया