कचहरीमा संघीताका सवाल
‘राजनीतिक अस्थिरता संघीयताको अवरोधक’

पोखरा । संविधानसभाबाट संघीयता अंगालिएको एक दशक पुग्नै लाग्दा यसको अभ्यासबारे प्रश्न–जवाफ र गुनासा उत्तिकै छन् । पोखराको समाज विज्ञान केन्द्रले आयोजना गरेको कचहरीमा नेपालको संघीय यात्राका एक दशक शीर्षकमा शनिबार भएको छलफलमा प्रायः सबै वक्ताले एउटै कुरा दोहो¥याए– संघीयता जरुरी त हो तर यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता र नेतृत्वको कार्यशैलीले समस्या देखायो ।
लामो समय दातृ निकायमा परामर्शदाताका रूपमा काम गरेका रमेश अधिकारीले छलफलको आधारपत्र प्रस्तुत गर्दै संघीयताको ऐतिहासिक पृष्ठभूमि खोतले । उनका अनुसार संघीयता ल्याउनुको कारण समावेशिता, शक्ति विकेन्द्रीकरण र नागरिक अधिकार सुनिश्चितता थियो । राजतन्त्रबाट गणतन्त्र, हिन्दु राज्यबाट धर्मनिरपेक्षता, एकात्मकताबाट ३ तहको सरकार र सामन्तवादबाट आधुनिक समाजतर्फको यात्रामा संघीयता मुल आधार हो भन्ने उनले स्मरण गराए । तर, उनले देखाएका समस्या पनि कम थिएनन्, संघीयता कार्यान्वयनका लागि आवश्यक अझै ४० भन्दा बढी कानुन निर्माण हुन बाँकी, संघ–प्रदेश–स्थानीय तहबीच अधिकार टकराव, कर संकलनजस्ता साझा अधिकारमा अस्पष्टता, र प्रदेश–नगरपालिका संघीय हस्तान्तरणमै निर्भर हुनुजस्ता चुनौती ।

‘संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन,’ अधिकारीको निष्कर्ष थियो । मिश्रित निर्वाचन प्रणालीका कारण संघ र प्रदेशमा कुनै एक दलको बहुमत नहुँदा राजनीतिक अस्थिरता बढेको भन्दै उनले यसको कमजोर पक्षका बारेमा अनुसन्धान जरुरी रहेको बताए । उनले भने, ‘२०६३ यता १३ जना प्रधानमन्त्री फेरिए, कोशी प्रदेशमा मात्र ९ पटक र गण्डकीमै पनि २०७४ यता ७ पटक नेतृत्व परिवर्तन भयो ।’
अनुसन्धाता शेखर पराजुलीले संघीयता खर्चिलो मात्र हो भन्ने धारणा हावी भए पनि तथ्यांक त्यस्तो नभएको बताए । उनले भने, ‘समावेशिता, सेवा प्रवाह र भौतिक निर्माणका हिसाबले स्थानीय तहले राम्रो काम गरेको छ ।’ तर नागरिकमा नकारात्मक भावना बढ्दो भएकाले त्यसलाई कम गराउन ध्यान दिनुपर्ने उनको आग्रह थियो ।
कुश्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले स्थानीय सरकारले दशकभरिको अभ्यासको समीक्षा गर्नुपर्ने बताइन् । कानुन नबनिएको, बनेका पनि कार्यान्वयन नभएको, कर्मचारी क्षमता विकास नपुगेको भन्दै उनले नागरिकले अझै सरकारलाई नजिकबाट महसुस गर्न नसकेको भनिन् । प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर अझै स्पष्ट थिए, ‘संघले अधिकार दिन कञ्जुस्याइँ गरेको छ, जिल्ला समन्वय समिति अनावश्यक छ ।’ उनले तल्लो तहका जनतालाई अधिकारसँग जोड्नका लागि संघीयता भन्दै सांसदकै मागका आधारमा प्रशासनिक पुनर्संरचना भएको बताए । विकास निर्माणका हिसावले प्रदेश संरचना अति आवश्यक रहेको उनको भनाइ थियो ।
गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले ‘कृषि र पशुपक्षी कर्मचारीलाई सचिव बनाउनुपर्ने अवस्था संघीयताको उपहास’ हो भने । रुपा गाउँपालिकाका अध्यक्ष समेत ओझाले अहिले गण्डकीले थालेको प्रशासनिक पुनर्संरचनाले प्रदेशलाई नै कमजोर बनाउने काम गरेको बताए । उनले अहिलेको राजनीतिक अस्थिरता संसदीय प्रणालीकै कमजोरी हो कि जस्तो भएको भनाए राखे । उनले भने, ‘संघतिर बादल लागे प्रदेशमा छाता ओड्नु पर्ने अवस्था छ । संघीय सरकारले कार्यालय थप्दै जाने, प्रदेश कटौती गर्दै जाने हुँदा कुरा मिलेको छैन ।’ उनले सडकसम्बन्धी काम गर्न पोखरामा मात्र संघ सरकारका ६ वटा कार्यालय रहेको भन्दै तिनीहरुको आवश्यकता कति हो भन्नेतिर खै प्रदेशले बोल्न नसकेको आरोप लगाए । संघीयताको मोडल अनुसारको काम भएन भन्दै उनले सबै तहले सबैखाले काम गर्ने हो भने किन चाहियो संघीयता ? स्थानीय तहले नै संघीयताको जग बसालिदिएको भन्दै उनले कोभिडका बेला स्थानीय तहले गरेको काम फर्केर हेर्न आग्रह गरे ।
पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले वित्तीय संघीयता बलियो नहुँदासम्म प्रदेश र स्थानीय तह संघमाथि निर्भर हुने भनाइ राखे । अधिवक्ता डा. विष्णुहरि तिमिल्सिनाले समस्या आयो भने समाधानका उपाय खोज्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक सुरेन्द्रबाबु तिवारीले योजना छनोटदेखि कार्यान्वयनसम्म पुरानै तरिका चल्दा समस्या भएको सुनाए । प्राडा लेखनाथ भट्टराईले संघीयता र विकेन्द्रीकरण फरक भएको भन्दै ‘स्थानीय तह प्रभावकारी छन् तर प्रदेश तह नागरिकसँग जोडिन सकेनन्,’ भन्ने टिप्पणी गरे ।
पूर्व वडाध्यक्ष खगराज आचार्यले महँगो र त्रुटिपूर्ण चुनाव प्रणालीप्रति आक्रोश पोख्दै ‘सांसदले खर्चको हिसाब गर्वका साथ सुनाउने अवस्था’ ले संघीयता कमजोर भएको संकेत बताए । अनुसन्धादा डा. कृष्ण अधिकारीले संघीयता अपरिहार्य भए पनि शासक र दलहरूको कार्यशैली सुध्रनु जरुरी रहेको बताए ।
कार्यक्रममा बाबुराम पौडेलले निर्वाचन प्रणाली दलबिहीन हुनुपर्ने धारणा राखे भने सुरेन्द्र परियारले विचौलियाको चलखेलले शासन नै कमजोर पारेको बताए । अन्य सहभागी अर्जुन पोखरेल, डा. रामचन्द्र बराल, रोशन भट्टराई, ईश्वरी पौडेल, भानु पराजुली, सन्देश शर्मा लगायतले आफ्ना जिज्ञासा राखे । कार्यक्रममा समाज विज्ञान केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक उपेन्द्रप्रसाद पौडेल, भरत कोइरालालले संघीयता कार्यान्वयनका सवालमा धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका नेत्रनारायण पौडेलले लोकतन्त्र सिद्धान्त मात्र नभई अभ्यास हो भन्दै अहिलेसम्म बनेका आयोगका प्रतिवेदन किन कार्यान्वयन भएनन् भन्ने प्रश्नमा सरकार संवेदनशील हुनुपर्ने निष्कर्ष सुनाए । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले मासिक रुपमा विभिन्न विषयमा कचहरी गर्दै आएको छ । सामाजिक कार्य, आमसञ्चार तथा पत्रकारिता र बिबिएसको पढाइ हुने लेकसिटीले कचहरीका साथै अनुसन्धान र प्रकासनका काम समेत गर्ने कलेजका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया