हिमालय सिद्धमहायोग ध्यान साधना केन्द्रद्वारा कांग्रेस नेता गोपालमान श्रेष्ठ सम्मानित

समाधान संवाददाता २०८२ भदौ १४ गते २१:०१
ÕW

पोखरा । धार्मिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।

हिमालय सिद्धमहायोग ध्यान साधना केन्द्रले आयोजना गरेको कार्यक्रममा महायोगी सिद्धवावाले श्रेष्ठलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे । सम्मान कार्यक्रममा सिद्धवावाले धर्म, संस्कृति र संस्कारले मानिसलाई सभ्य नागरिक बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नेपालका राजनेताले धर्मलाई पर्यटनसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिँदै मुक्तिनाथ क्षेत्रमा हरेक वर्ष लाखौं धार्मिक पर्यटक आउने भएकाले त्यसलाई अवसरको रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।

देशका नेताहरु जनता र मातृभूमिप्रति उत्तरदायी भई राष्ट्रियता जोगाउनुपर्नेमा पनि उनले जोड दिए । उनले आफू सिद्धवावासँगै धार्मिक कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

सम्मान ग्रहण गर्दै गोपालमान श्रेष्ठले धर्ममा आस्था राख्ने नेपालीको संख्या ठूलो भएकाले दलहरूले जनभावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । उनले आफू धार्मिक आस्थामा आधारित व्यक्ति भएको, शिवप्रति विशेष श्रद्धा राख्ने गरेको र आफ्नो राजनीतिक जीवन जनसेवामुखी रहेको उल्लेख गरे ।

यस अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मुक्तिनाथ क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न राज्य र समाज दुवैले भूमिका खेल्नुपर्ने बताए । उनका अनुसार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा हरेक वर्ष लाखौं भक्तजन पुग्ने भएकाले त्यहाँ जाने भक्तजनलाई सहजता प्रदान गर्न आवश्यक पहल गर्नुपर्ने छ ।

Advertisement

चर्तुमासको अवसर पारेर साधना केन्द्रले पोखरा–३ नारायणस्थानमा पारम्परिक उपचार तथा चर्तुमास व्रत अनुष्ठान सञ्चालन गरिरहेको छ । आजदेखि सुरु भएको कार्यक्रममा योगोपचार, ग्रह दोष निवारण, मन्त्रोपचार, आयुर्वेचार र सत्संगसमेत सञ्चालन गरिएको छ । सोही अवसरमा साधना केन्द्रका सचिव रेशम खड्काले धर्म र आस्थाको महत्त्वबारे धारणा राखे ।

तपाईको प्रतिक्रिया