१८ औं पुस्तकालय दिवसमा प्रभातफेरी र रामायण वाचन प्रतियोगिता

समाधान संवाददाता २०८२ भदौ १५ गते ५:५२

पोखरा। पोखरा महानगरपालिका–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १८ औं पुस्तकालय दिवसको अवसरमा शनिबार प्रभातफेरी र भानुभक्तकृत रामायण वाचन प्रतियोगिता आयोजना गर्‍यो ।

प्रभातफेरी पुस्तकालय परिसरबाट सुरु भएको थियो जसमा पुस्तकालयका अध्येता, सामाजिक अभियन्ता र राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।

प्रभातफेरीपछि आयोजित सभामा गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले पुस्तकालय पठन संस्कृतिको जगेर्नाका लागि अपरिहार्य रहेको बताइन् । कार्यक्रममा पुस्तकालय अध्यक्ष कृष्णहरि भण्डारीले पुस्तकालयलाई सामाजिक सचेतना र जागरणको सेतुका रूपमा प्रस्तुत गरे ।

Advertisement

उनकै सभापतित्वमा संयोजक विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा पोखरा महानगर–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम ढकाल, महानगर कार्यपालिका सदस्य निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेश अध्यक्ष माधव भण्डारीलगायतले पुस्तकालयको महत्वबारे धारणा राखे ।

पुस्तकालय दिवसकै अवसरमा सम्पन्न विद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी जयन्ती आचार्य पहिलो, गोगन माध्यमिक विद्यालयकी सुजाता पौडेल दोस्रो, लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुलकी सुदिक्षा पौडेल तेस्रो र रामज्योति माविकी स्वेच्छा परियारले सान्त्वना स्थान पाए । ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

प्रतियोगिताको निर्णायकमा विन्दुवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्य प्राडा जगन्नाथ रेग्मी, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र पुस्तकालय कोषाध्यक्ष माधव भण्डारी थिए ।

त्यसैगरी सभापति भण्डारी र संयोजक पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा पुस्तकालय सचिव पदमप्रसाद अधिकारी, महानगर कार्यपालिका सदस्य निर्मला पौडेललगायतले पनि मन्तव्य दिए । पुस्तकालय दिवसको अवसरमा भोलि साँझ दीपावली गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया