लक्ष्मी विद्या पदकबाट उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा । कास्कीका विभिन्न क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई शनिबार पोखरा उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा ‘लक्ष्मी विद्या पदक–२०८१’ बाट सम्मान गरिएको छ ।
लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापना र उद्योग वाणिज्य संघद्वारा सञ्चालन हुँदै आएको विद्या पदक व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबिएस) र स्नातक (बिबिए, बिबिएस) तहमा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई प्रदान गर्ने परम्परा रहेको छ । यसपटक एमबिएसतर्फ पृथ्वीनारायण क्याम्पसकी दीपा तिवारी, बिबिएतर्फ ला–ग्राण्डी इन्टरनेशनल कलेजकी प्रमिशा सापकोटा र बिबिएसतर्फ पृथ्वीनारायणकै विजय सुवेदी सम्मानित भए ।
विद्यार्थीलाई प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुप प्रालिका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नगद, माला, दोसल्ला, ताम्रपत्र र पदकसहित सम्मान गरे । दीपा तिवारीलाई २५ हजार रुपैयाँ र अन्य दुई जनालाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सम्मानित दीपाले विद्या पदकले जीवनमा अघि बढ्न थप हौसला र ऊर्जा दिएको बताइन् । उनले पुरस्कार स्थापना गर्ने लक्ष्मी ग्रुप, सञ्चालन गर्ने उद्योग वाणिज्य संघ र आफ्ना गुरुहरुप्रति आभार व्यक्त गरिन् ।
समारोहमा संघका पूर्व अध्यक्ष वसन्त उदासले सञ्चालन गरेका थिए । उनले अहिलेसम्म ७३ जना विद्यार्थीलाई विद्या पदक प्रदान भइसकेको र उनीहरु विभिन्न प्रतिष्ठित संस्थामा उच्च ओहोदामा कार्यरत रहेको जानकारी दिए ।
वि.सं. २०५५ पुस २० मा पोखरा महानगरको दोस्रो नगर परिषद् उद्घाटन समारोहमा ‘पोखरेली नवरत्न’ सम्मान पाएका लक्ष्मी हाउसका बुद्धिबहादुर श्रेष्ठले सो सम्मानमार्फत पाएको १० हजार रुपैयाँमा २ लाख १ हजार १११ रुपैयाँ थपेर अक्षयकोष स्थापना गरेका थिए । त्यही अक्षयकोषबाट ‘लक्ष्मी विद्या पदक’को सुरुवात भएको हो ।
यसैबीच, ‘पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कार’बाट आरजू विष्ट सल्यानीलाई पनि सम्मान गरिएको छ । उनलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो ।
उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यवसायीलाई समेत सम्मान गरियो । प्रमुख अतिथि अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीका पक्षमा महासंघ निरन्तर क्रियाशील रहेको जनाउँदै अब ७/८ महिनापछि आफू नेतृत्वमा पुग्ने र केही सुधारका कार्यक्रम ल्याउने बताए । उनले मुलुकको अर्थतन्त्रमा आंशिक सुधारका संकेत देखिएको भए पनि अझै पनि अर्थनीति, मौद्रिक नीति र पूँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, विभिन्न जिल्ला र प्रदेश उद्योग वाणिज्य संघका अध्यक्षहरुले कृषि, पर्यटन, जलविद्युत् र सम्भावित क्षेत्रमा लगानी बढाएर आर्थिक गतिविधि सक्रिय पार्नुपर्ने सुझाव दिए । संघ अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभा गौतमले सञ्चालन गरेकी थिइन् ।







‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया