‘माइतीघर’मा उत्कृष्ट भिडिओ बनाउनेलाई ५ लाख पुरस्कार

समाधान संवाददाता २०८२ भदौ १५ गते १३:२०

काठमाडौँ ।

मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ ।

नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए । उनले निर्माण गर्नुभएको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरुपमा तयार गरेका हुन् ।

Advertisement

गीतमा सञ्जिवनीले स्वर दिएको जनाउँदै अधिकारीले स्वर्गीय जयदेवले सिर्जना गरेको सङ्गीत र किरण खरेलले रचना गरेको शब्दअनुसार नयाँ स्वरूपमा तयार गरिएको बताए । उनका अनुसार पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको हो ।

उनले भने, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजानिक गरेका छौँ । पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्रमा समावेश गरेका हौँ । गीतले चलचित्रको कथालाई अगाडि बढाउँछ ।”

Advertisement

निर्माता अधिकारीले उक्त गीतमा श्रव्यदृश्य (भिडिओ) बनाउनेमध्येबाट उत्कृष्टलाई रु पाँच लाख पुरस्कार राशि प्रदान गरिने जानकारी दिए । यसका लागि प्रतियोगिता घोषणा गरिएको उनले बताए ।

“गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउनुहुनेछ । प्रतियोगितामा सहभागी हुन ४० सेकेण्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ । यसले गीतलाई नयाँ पुस्तामा पुर्‍याउनुका साथै चलचित्रको प्रचारप्रसारमा मद्दत गर्नेछ”, निर्माता अधिकारीले भने ।

उक्त गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गरेका छन् । गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिले संयुक्त रूपमा छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको उक्त चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायत कलाकारकाे अभिनय छ । चलचित्र दसैँको अवसर पारेर फूलपाती असोज १३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया