पुस्तकालय दिवसमा चित्रकला प्रतियोगिता, सोसल पब्लिकका हुमबहादुर प्रथम

समाधान संवाददाता २०८२ भदौ १५ गते १७:३९

पोखरा ।
१८ औं पुस्तकालय दिवसको अवसरमा शनिवार पोखरा सार्वजनिक पुस्तकालयमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पोखरा सार्वजनिक पुस्तकालय, अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा कास्कीका ३९ विद्यालयका ६७ जना विद्यार्थीहरूको सहभागिता थिए ।

प्रतियोगितामा सोसल पब्लिक स्कूलका कक्षा १० का हुमबहादुर गुरुङ प्रथम भएका छन् । त्यस्तै मदरल्याण्ड माविका प्रयास सापकोटा द्वितीय र कास्की मोर्डनाइज्ड एकेडेमीकी सोफिया रसायली तृतीय भएका छन् । हिलप्वाइन्ट माविका सौरब लवगुन र मदरल्याण्ड माविकी एन्जेल नेपालीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।


विजेताहरूलाई नगदसहित पुस्तक, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । प्रथम हुनेलाई सात हजार, द्वितीयलाई पाँच हजार, तृतीयलाई चार हजार र सान्त्वना प्राप्त गर्ने दुई जनालाई दुई–दुई हजार रुपैयाँसहित २०८१ सालको मदन पुरस्कार प्राप्त पुस्तक ‘उलार’ र डा. तीर्थबहादुर श्रेष्ठको कृति ‘नेपाल गाथा’ प्रदान गरिएको हो ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रमाणपत्र प्रदान गरे । पोखरा सार्वजनिक पुस्तकालयका संस्थापक सदस्य एवम् सचिव अर्जुन श्रेष्ठले नगद पुरस्कार र नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकी अध्यक्ष मीनकुमारी डल्लाकोटीले पुस्तकसहित मायाको चिनो प्रदान गरे ।


प्रतियोगिताको मूल्यांकन सिर्जनशील कलाकार समूह कास्कीका अध्यक्ष दलबहादुर गुरुङ र उपाध्यक्ष झविन्द्र गुरुङले गरेका थिए । कार्यक्रममा विजेता विद्यार्थीलाई शुभकामना र बधाई मन्तव्य दिइएको थियो भने प्रथम विजेता गुरुङले आफ्ना अनुभव पनि बाँडे । सोही अवसरमा वडाध्यक्ष मर्सानीले पोखरा सार्वजनिक पुस्तकालयलाई केही महिनाभित्रै पृथ्वीचोकस्थित नवनिर्मित भवनमा सारिने जानकारी दिएका थिए ।

Advertisement

विद्यार्थीलाई पोखराका ऐतिहासिक सम्पदा र विकासलाई चित्रमा उतार्न प्रेरित गर्दै उत्कृष्ट चित्रहरूलाई पुरस्कारसहित संरक्षण र प्रदर्शनी गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम पुस्तकालयका सचिव अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सह–सचिव सूर्य क्षेत्रीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया