पोखरामा मनाइयो गौरा

समाधान संवाददाता २०८२ भदौ १५ गते १९:५०

पोखरा । पोखरामा आइतबार सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको छ । समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द लगायतको उपस्थिति थियो ।

प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वका रहेको जनाए । सुदूरपश्चिममा यो पर्वको निकै महत्व रहेको र धुमधामका साथ मनाइने गरेको उल्लेख गर्दै उनले अहिले सुदूरपश्चिमेली जहाँ जहाँ पुगेका छन्, त्यहाँ गौरा पर्व मनाइने गरेको जनाए ।

‘काम विशेषले घरबाहिर गएकाहरु यसै पर्वमा फर्कने गर्दछन् । यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ । कुनै भेदभाव बिना नै अंगालो मारेर देउडा खेल्दै रमाउने गरेका छन्,’ भट्ट भन्छन्, ‘गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुगेको छ । समाजलाई एकसूत्रमा बाँधेको छ ।’

Advertisement

गौरा सामूहिक रूपमा मनाउने पर्व भएकाले यसले समाजिक सद्भावलाई पुनर्ताजगी गर्ने उनले उल्लेख गरे । ‘देउडा एकअर्कासँग अँगालो मारेर खेल्ने गरिन्छ । जसले हामी एक हाँै भन्ने सन्देश दिन्छ । वर्षभरि तीतामीठा जे भए पनि गौरा पर्वमा सबैलाई बिर्साइदिन्छ,’ उनी भन्छन्, ‘नयाँ ताजा सम्बन्ध जोडिदिन्छ । जसले एकताको सन्देश दिन्छ । गौराले आपसमा रहेका तिक्तालाई पनि हटाइदिन्छ ।’

कार्यक्रममा देउडा गीत प्रस्तुतिसँगै बिरुडा खुवाइएको थियो । समाजका अध्यक्ष निरज पन्त भदौ कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर घरमा महिलाले तामाका भाँडामा बिरूडा अर्थात् ५ प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेको बताउँछन् ।
महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरूडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र धारामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरूडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ । सोही दिन महिलाले प्रसादका रूपमा बिरूडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरूडा थापिदिने चलन छ ।

Advertisement

सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैंभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यति बेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरूद्ध पनि देउडाका माध्यमले तीखो व्यंग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । देउडाका साथै धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । यी सबै सामूहिक खेल हुन् ।

तपाईको प्रतिक्रिया