राप्रपा कास्की अधिवेशनका तयारी तीव्र

समाधान संवाददाता २०८२ भदौ १५ गते २०:१०

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जिल्ला अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ । शनिबार पोखरामा बसेको विस्तारित बैठक अधिवेशनकै तयारीमा केन्द्रित रह्यो । बैठकमा पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्की प्रमुख अतिथि रहे ।

बैठकमा वडादेखि पालिका र जिल्ला अधिवेशनसम्मका विषयमा विस्तृत छलफल गरिएको थियो । राप्रपाले हालै ७७ वटै जिल्लाका लागि केन्द्रीय पर्यवेक्षक खटाइसकेको छ । कार्कीलाई कास्की जिल्लाको पर्यवेक्षकको जिम्मेवारी दिइएको छ । उनले भने, ‘पार्टीको अधिवेशन समयमै अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्नका लागि पर्यवेक्षकहरू तोकिएका हुन् । म कास्कीमा सो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

Advertisement

बैठकमा केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र जिल्लास्तरीय पदाधिकारीको सहभागिता थियो । बैठकले असोज मसान्तसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यस क्रममा पहिलो चरणमा पोखरा महानगरको अधिवेशन असोज ५ देखि १० गतेसम्म हुने भनिएको छ ।

हालसम्म पोखरा महानगरका ३३ वडामध्ये धेरै वडाको अधिवेशन भइसकेको छ भने बाँकी वडा ४, १०, १५, २१ र २२ को अधिवेशन भदौभित्र सम्पन्न गर्ने तयारी भइरहेको कार्कीले जानकारी दिए । पोखरा अधिवेशनपछि कास्कीका चार गाउँपालिका रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रेमा अधिवेशन हुने कार्यक्रम छ ।

Advertisement

अर्का केन्द्रीय सदस्य अरुण गिरीले अधिवेशनको सन्दर्भमा बोलेका थिए । उनले भने, ‘कास्कीलाई बेटर कास्की बनाउन सबैजना एकजुट हुनुपर्छ । जिल्लामा सक्षम नेतृत्व ल्याएर देश विकासमा अघि बढ्नुपर्छ । राप्रपा सधैं जनताको हकहितको पक्षमा रहन्छ ।’


तपाईको प्रतिक्रिया