नाट्टा गण्डकी प्रदेशको ३० औं वार्षिक साधारण सभा

समाधान संवाददाता २०८२ भदौ १६ गते १२:४३

पोखरा। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आफ्नो ३० औँ वार्षिक साधारण सभा एक समारोहका बीच आइतबार भएको छ।

साधारण सभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।

Advertisement

कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरासहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको समग्र विकासलाई लक्षित गरी पोखरा भ्रमण वर्ष घोषणा गरी विभिन्न कार्यक्रम अघि बढाइएको बताए। उनले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै यसले पर्यटन क्षेत्रको समग्र विकासका लागि विभिन्न लगानीहरू आकर्षित गरिरहेको पनि बताए।

नाट्टा केन्द्रका अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका सदस्य कुमारमणि थपलियाले समग्र पर्यटन क्षेत्रको उन्नयनका लागि नाट्टाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

Advertisement

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने कुरामा प्रशासन निरन्तर लागिरहेको बताइन्।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धन र विकासका लागि संस्थाका तर्फबाट निरन्तर साथ र सहयोग गरिँदै आएको बताए।

कार्यक्रमका अवसरमा नाट्टा गण्डकीले सञ्चालन गरेको मनोहरा सिग्देल स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट हलिडे एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवी काफ्लेलाई सम्मान गरियो। नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी माता मनोहराको स्मृतिमा स्थापित १ लाख ११ हजार रुपैयाँको अक्षयकोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनीमध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिँदै आएको जानकारी दिए।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालको सभापतित्व एवम् महासचिव चेतन कार्कीले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक संगीता पौडेलले स्वागत मन्तव्य राखेकी थिइन्।

साधारण सभामा महासचिव चेतन कार्कीले प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष सुवास पहारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापा, नाट्टा सुदूरपश्चिम प्रदेशका महासचिव शिवहरि पाण्डे लगायतले बोलेका थिए।


तपाईको प्रतिक्रिया