डायमन्ड मावि पोखरा २७ को दीक्षान्त

समाधान संवाददाता २०८२ भदौ १६ गते १३:१२

पोखरा ।

Advertisement

डायमण्ड मा.वि., पोखरा–२७, तालचोकको दीक्षान्त समारोह आइतबार भएको छ। कार्यक्रममा विद्यालयको विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायका १६५ जना विद्यार्थीहरू दीक्षित भएका हुन्।

माध्यमिक शिक्षा तह उत्तीर्ण गर्ने १९औँ समूह भए पनि विश्वविद्यालयहरूले गर्ने दीक्षान्त समारोहको झल्को दिने गरी गाउन र टोपीमा सजाएर कक्षा १२ उत्तीर्णको प्रमाणपत्र प्रदान गर्दै दीक्षित गरेको हो। विद्यालयबाट हालसम्म २ हजार १७३ जना दीक्षित भइसकेका छन्।

Advertisement

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले विद्यालय शिक्षा दिने शिक्षालय मात्र नभई चेतनाको मेरुदण्ड पनि भएको बताए। उनले दीक्षित विद्यार्थीहरूको किताबसँगै जीवन पढ्ने नयाँ जीवनको सुरुवात भएको बताउँदै आगामी दिनको उज्ज्वल भविष्यको कामना गरे।

उक्त अवसरमा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायबाट उत्कृष्ट हुन सफल विद्यार्थीहरू विनायक न्यौपाने, सक्षम मल्ल र ईशा श्रीस मगरलाई सम्मान गरिएको थियो। विद्यालयकै सर्वोत्कृष्ट हुन सफल विज्ञान संकायका मयूर शाहीलाई ‘पदम डायमण्ड अवार्ड’ प्रदान गरियो।

Advertisement

प्रिन्सिपल यामबहादुर रोक्काले स्वागत मन्तव्य व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन आग्रह गरे। उनले भने, ‘तपाईंको हातमा आज परेको प्रमाणपत्र डिग्रीका लागि मात्र होइन, यसमा तपाईंको अभिभावकको परिश्रम र समाजको अपेक्षा मिसिएको छ। तपाईंको हातमा डिग्रीको प्रमाणपत्र मिल्नुको अर्को अर्थ समाजको लागि निभाउनुपर्ने जिम्मेवारी थपियो भन्ने बुझ्नुहोस्।’

दीक्षित हुनेमध्ये मयूर शाहीले विद्यालयमा आफ्नो सम्पूर्ण बाल्यकाल व्यतीत भएको र यही हुर्किएको बताउँदै विद्यालयबाट आफूले शिक्षा मात्र नभई असल गुरुहरू र साथीभाईसमेत पाएको बताए। उनले आगामी शैक्षिक यात्राको लागि विद्यालय छाड्नुपरे तापनि आफू विद्यालय परिवारप्रति सधैँ कृतज्ञ रहने पनि बताए।

विद्यालयका निर्देशक माधवशरण उपाध्यायले दीक्षित विद्यार्थीहरूले समाज र देशको हितमा सधैँ आफूले योगदान दिँदै थप प्रगति पथमा अघि बढ्न प्रेरणा प्रदान गरे। उनले पाठ्यक्रममा भएका विषयलाई मात्रै नभई व्यावहारिक र पारिवारिक संस्कारसहितको सांस्कृतिक, नैतिकवान शिक्षा प्रदान गरिएको बताए। कार्यक्रम सञ्चालन शिक्षक सञ्जीव थापाले गरेका थिए। समारोहमा विद्यार्थीसहित अभिभावकहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो।

तपाईको प्रतिक्रिया