इमेज सहकारी पोखरा शाखाबाट बचत फिर्ता गरिँदै

समाधान संवाददाता २०८२ भदौ १६ गते २०:१०

पोखरा ।

Advertisement


पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको छ । इमेज सहकारी संघर्ष समितिको पहलमा सोमबारबाट एक लाखसम्म बचत रहेकाहरुलाई रकम फिर्ता गर्न थालिएको हो ।


संघर्ष समितिका संयोजक दिलबहादुर कार्की, समितिका पोखरा संयोजक बेलबहादुर साहानीले बचतकर्ता सुशीलाकुमारी शाहलाई ६६ हजार ६ सय ३० रुपैयाँको चेक दिएर रकम फिर्ता गर्न सुरुआत गरे । पोखरामा १ लाखसम्म बचत गर्नेहरुको संख्या १ सय ५८ छ ।

Advertisement


समिति संयोजक कार्कीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको र ठूला बचतकर्ताको रकम सुरक्षित गर्न लागिपरेको उल्लेख गरे । ‘पोखराका साना बचतकर्तालाई करिब एक करोड फिर्ता गर्छाैँ । ठूला बचतकर्तालाई सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सम्पत्तिबाट रकम लिने व्यवस्था मिलाउँदै छौं,’ उनले भने । सोमबार ४० जना र बाँकी बचतकर्तालाई मंगलबार बचत फिर्ता गरिनेछ ।


संयोजक कार्कीले मुद्दा प्रक्रियामा जाँदै बचतकर्ताले रकम फिर्ता पाउने अवस्था नदेखिँदा मिलापत्र गरी रकम फिर्ताको अभियान चलाइएको जानकारी दिए । पर्वतको मिना ग्रुप प्रालिसँग देवकुमारको सम्झौता भएबमोजिम सो समूहले संघर्ष समितिमार्फत् रकम बचतकर्तालाई उपलब्ध गराइरहेको छ ।

Advertisement


उनले सबै बचतकर्तालाई एकीकृत भएर समितिलाई साथ दिन आग्रह गरे । ‘मुद्दामा जाँदा हामीले रकम फिर्ता पाउने अवस्था भएन, यसमा मेरै ६५ लाख फसेको छ,’ कार्की भन्छन्, ‘बचत फिर्ता हुने अवस्था देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निवासमा बसेर देवबहादुरलाई नेपाल आउने वातावरण बनाउन हामीले सहजीकरण गरेका हौं ।’


देवकुमार नेपालीले एउटै नाम इमेजबाट बागलुङमा पनि सहकारी चलाएका थिए । बागलुङका तीन शाखाका एक लाखभन्दा कम बचत रहेका छ सय १३ जनालाई करिब पाँच करोड बचत फिर्ता भइसकेको छ । पोखरा र बागलुङ दुवैतिर गरी इमेज सहकारीमा १ अर्ब ९५ करोड हिनामिना भएको छ ।


सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सहकारीका सञ्चालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षका लागि थुनामा छन् । संस्थापक अध्यक्ष नेपाली बागलुङको ढोरपाटन नगरपालिका मेयर हुन् ।


नेपालीविरुद्ध पोखराकै सूर्यदर्शन सहकारी ठगीमा पनि कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । २०८० जेठ २४ गते जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि फरार नेपाली भारतको नयाँदिल्लीमा गएको असोज १२ गते पक्राउ परेका थिए । नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तपाईको प्रतिक्रिया