
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको आतंक बढेको छ । भालुले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिएका छन् ।
किसानले उत्पादन गरेको स्याउ लगायतका अन्नबाली हिमाली कालो भालु पसेर खाइदिने गरेपछि चिमाङ गाउँमा ५ जना सम्मिलित ७ वटा समूह बनाएर गस्ती गर्न थालिएको छ । किसानलाई भालुले अन्नबाली सखाप पारेर निकै ठूलो सास्ती दिएको स्थानीय सुकबहादुर विश्वकर्मा बताउँछन् । यहाँ एक्याप संरक्षित क्षेत्रमा कालो भालु र मानवबिचको द्वन्द्व बढ्दै गएको हो ।
समुन्द्री सतहको तीन हजार मिटरको उचाईमा रहेको मुस्ताङको चिमाङ गाउँ बेनी—जोमसोम सडकमार्गको कालिगण्डकी पारी अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजंगलको फेंदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउँनै धौधौ परेको किसान विश्वकर्माको भनाई छ । त्यहाँ उवा र जौ बाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको उनले बताए ।
अन्नपूर्ण संरक्षण आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोमको मातहतमा रहेको यहाँको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले स्थानीय किसानले उत्पादन गरेको बालीनाली सराख पारिदिन थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । यो समस्या त्यहाँका किसानले वर्षौवर्षदेखि झेल्दै आईरहेको बताएका छन् । त्यहाँका किसानले उत्पादन गरेको स्याउ ,फापर,मकै,सिमी र हरियो ताजा तरकारी लगायतका अन्नबाली हिमाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानहरुको भनाई छ ।
यहाँको चिमाङ गाउँमा स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन हिमाली कालो भालुले सखाप पारिदिन थालेपछि घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित ताराजाली लगाएको थियो । तर, त्यहाँ लगाईएको घेराबार तालजाली माथि उक्लिएर भालुले खेतबारीमा लगाईएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए ।
यहाको चिमाङ गाउँ कृषि उत्पादनले निकै प्रचुर सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रुपमा रहेको कृषि व्यवसायलाई हिमाली कालो भालुको आतंकले दुख दिने थालेपछि यहाँका किसान निकै ठुलो समस्यामा परेका हुन् ।
भालुको आतंक रोक्न गाउँको खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गतवर्ष भालु धपाउँने यन्त्र (साईरन) जडान गरेको कार्यपालिका सदस्य मनि विकले उल्लेख गर्नुभयो । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतंक रोक्न असफल भएको उनले स्पष्ट पारे ।
यहाँको चिमाङ गाउँको खेतबारीमा तारजाली र भालु धपाउने यन्त्र जडान गरेपनि त्यसले काम नगरेपछि त्यहाँका किसान घरधुरीले (६—७) जनाको समुह बनाएर दैनिक हेरालो बस्न सुरु गरेका थिए । एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिक वापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर, भालु नियन्त्रण गर्न तीन जना कर्मचारी नभएपछि ६,७ जनाको समुह बनाएर पारिश्रमिक बाँडफाँड गर्यो ।
चिमाङकी स्थानीय ए कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा दैनिक राति ८ बजेबाट १२ बजेसम्म भालु आउँछकी भनी खेतबारीमा गस्ती गर्ने गरेको बताए । गाउँमा आलोपालो समुह विभाजन गरी दैनिक राति गस्ती सुरु गरेपनि भालुको आतंक आशिंक रुपमा नियन्त्रणमा आएको उनको भनाई छ ।
यहाँको चिमाङ गाउँमा किसानहरुले उत्पादन गर्ने कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणको रुपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सौर्यउर्जा प्रणालीबाट बिघुुत प्रवाह हुने गरी भालु नियन्त्रण गर्न एक हजार २७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताए । उनले यसकार्यका लागि चार लाख बजेट खर्च भएको जानकारी दिए ।
तर, यहाँ एक्यापले परीक्षणको रुपमा लगाएको विद्युतीय तारजालीले भालु नियन्त्रणमा कुनै फाईदा नपुगेको कार्यपालिका सदस्य मनि विकले बताए । चिमाङमा भालुले भिरालो स्थानबाट चढेर खेतबारी पस्ने गरेको र बिद्युतीय तारजाली समेत नाघेर भालुले किसानको उत्पादन नष्ट गर्ने गरेको जनाए ।
यहाँ अहिले पनि दैनिक रुपमा राति गाउँले किसानहरुले भालु धपाउन हेरालो बस्ने गरेको कार्यपालिका सदस्य विश्वकर्माले उल्लेख गरे ।
यहाँका चिमाङ गाउँमा मात्रै होईन ,भालुले थासाङ गाउँपालिकामा बर्सेनि हिमाली कालो भालुको आतंकले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो,ताक्लुङ,छयो,झिप्रा देउराली, सौरु,सिर्खुम र नाउरिकोट लगायतका स्थानमा हिमाली कालो भालुको आतंकले कृषकहरुले निकै ठुलो सास्ती दिने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया