त्रिविको क्याम्पसलाई पोखरा विश्वविद्यालयले बनायो आंगिक

समाधान संवाददाता २०८२ भदौ १७ गते १६:५७

पोखरा ।
स्थापना भएको २८ वर्षपछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस खोलेको छ । ललितपुर ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्न लागेको हो ।

Advertisement


यसअघि पोखरा उपत्यकाबाहिर आंगिक महाविद्यालय विस्तार गर्ने प्रयास भए पनि सफल हुन नसकेकोमा हालै बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । श्रमिक शान्ति क्याम्पस सञ्चालक समितिको बैठक, क्याम्पस सभाको बैठक तथा पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयका आधारमा यो निर्णय गरिएको हो ।


यसबारे साउन २७ गते भएको समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल र पोखरा विश्वविद्यालयका रजिस्ट्रार सहप्राडा अजय थापा तथा श्रमिक शान्ति क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र क्याम्पस प्रमुख रोशन मैनालीले हस्ताक्षर गरेका छन् । त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक क्याम्पस श्रमिक शान्ति क्याम्पस अब पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस बनेको छ ।

Advertisement


२०६४ मा स्थापना भएको श्रमिक शान्ति क्याम्पसमा यसै शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ बिएएलएलबी, बिसिएसआइटी, ब्याचलर आफ एआई जस्ता कार्यक्रम सञ्चालन हुने छन् । अब पोखरा विश्वविद्यालय अन्तर्गत आंगिक महाविद्यालयको संख्या ५ पुगेको छ ।


यसअघि २०५६ मा स्कुल अफ बिजनेस, २०५७ मा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेज, २०६० मा स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ र २०६६ मा स्कूल अफ इन्जिनियरिङ आंगिक क्याम्पसका रुपमा स्थापना भएका थिए । हाल यी ४ आंगिक स्कुलमा ४२ कार्यक्रम सञ्चालनमा छन् । त्यहाँ ३४ सयभन्दा बढी विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया