सहकारी रकम हिनामिना आरोपमा सांसद गीता बस्नेत १५ लाख धरौटीमा रिहा

समाधान संवाददाता २०८२ भदौ १९ गते ४:३३

नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन् ।

नवलपुर जिल्ला अदालतमा बुधबार उपस्थित भई धरौटी बुझाएपछि उनी रिहा भएको अदालतकी सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् ।

नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा सांसद बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

Advertisement

बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनकी पार्टीले अदालतमा उपस्थित भएर छानबिनलाई सहयोग गर्न निर्देशन दिएको थियो । तर उनी एक वर्षपछि मात्र अदालतमा उपस्थित भएकी हुन् ।

प्रहरीको भनाइअनुसार सांसद बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाइँ र अन्य साथीमार्फत रकम निकासी गराएर हिनामिना गरेकी हुन् ।

Advertisement

बस्नेतसहितको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको प्रदेश रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको थियो ।

तपाईको प्रतिक्रिया