खानेपानी महासंघको गण्डकी समितिमा पहारी
राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको पोखरा घोषणापत्र जारी

लेखनाथ ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको प्रथम गण्डकी प्रदेश भेलाले ’जनताको पानी, सरकारको लगानी’ भन्ने भावनालाई कार्यान्वयनको लागि जोडदार माग गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रको आयोजनामा पोखराको पर्यटकीयस्थल बेगनासमा सम्पन्न भेलाले पोखरा घोषणापत्र जारी गर्दै सबै प्रकारका खानेपानी आयोजनाहरूको दायित्व राज्यले लिनुपर्ने माग गरेको हो ।
त्यस्तै, भेलाले राष्ट्रिय सभाबाट हालै पारित खानेपानीसम्बन्धी राष्ट्रिय संकल्प प्रस्ताब कार्यान्वयन गराउन नेपाल सरकारलगायत सबै सरोकारवालाहरूसँग माग गरेको छ ।
खानेपानी सेवा प्रदायक संस्थाहरू गैरनाफामूलक भएकोले करमुक्त आयोजना निर्माण र सञ्चालन गर्न तथा नगर विकास कोषको ऋणमा ब्याजदर घटाउनका साथै खानेपानी क्षेत्रको जोखिम बिमाको लागि आवश्यक प्रबन्ध गर्न माग गर्ने उल्लेख गरिएको छ ।
हालै संघीय खानेपानी मन्त्रालयबाट कार्यालयको संरचना घटाई सेवा प्रभावित भएकोले खारेजमा परेका कार्यालयहरूबाट सेवा निरन्तर सञ्चालन गर्न माग गर्ने घोषणापत्रमा उल्लेख छ ।
सरसफाई र वातावरणलाई उच्च प्राथमिकतामा राखी डिजाइन चरणबाटै वातावरणीय प्रभाव मूल्यांकन गर्दै प्रविधिमैत्री र सुरक्षित खानेपानी आयोजना सञ्चालन गर्न माग गर्ने घोषणापत्रमा भनिएको छ ।
भेलाले महासंघको गण्डकी प्रदेश समिति गठन गरेको छ । समितिको अध्यक्षमा विमला पहारी (लेखनाथ), सचिवमा राजुराम श्रेष्ठ (दुलेगौडा), कोषाध्यक्षमा तुलसी पाण्डे (अमरापुरी) छन् । समितिको सदस्यमा सीता खड्का (पृथ्वीनारायण), विष्णुमाया श्रेष्ठ (भिमाद), रमेश गिरी (बेनी), गोकुल अधिकारी (वयरघारी), केशवराज पौडेल (गैडाकोट), कमलनाथ पौडेल (शिवालय कुश्मा), रमा गौतम (पुरनचौर) र नारायण श्रेष्ठ (बलेवा, बागलुङ) छन् ।
भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आज सर्वसाधारणलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनेतर्फ लाग्नुपर्ने बताए । ’पानीको मुहान राज्यको हो’ भन्ने कुरालाई स्थापित बनाउनु जरुरी रहेको उनको भनाइ छ ।
गण्डकी प्रदेशका ऊर्जा तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले शुद्धतासहितको स्वच्छ खानेपानी उपलब्ध गराउने तर्फ सरकार लागिरहेको बताए । गण्डकी प्रदेशले खानेपानी र सिँचाइमा छुट दिने घोषणा गर्दै यसको कार्यान्वयनलाई अघि बढाएको पनि उनले बताए ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले समुदायमा खानेपानीको आपूर्तिका लागि महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष जानुका केसी, गण्डकी प्रदेश संयोजक केशर निर्दोशी, केन्द्रीय सदस्य सन्दीप श्रेष्ठ, सुवास श्रेष्ठ, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सहसचिव हरि तिमल्सिना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल लगायतले स्वच्छ खानेपानी वितरणमा राज्यको ध्यान जानुपर्ने सुझाव राखेका थिए ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया