सदस्यता विवाद अस्वीकार्य : विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै पार्टी सदस्यता नवीकरणमाथि प्रश्न उठाइएकोप्रति आपत्ति जनाउँदै यस्तो विवाद अस्वीकार्य भएको बताएकी छन् । उनले सदस्यताको विषयलाई व्यक्तिगत मुद्दा नभई पार्टीको विधि, मूल्य र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको प्रश्नका रूपमा व्याख्या गरेकी छन् ।
साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णयमा आफ्नो सदस्यता विवादमा ल्याइएकोप्रति प्रतिक्रिया दिँदै भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिलाई पत्र लेखेकी हुन् । पत्रमार्फत उनले भनिन्– ‘यो पत्र मेरो आत्मरक्षाका लागि होइन, यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । सदस्यताको प्रश्न कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
उनले स्कूले जीवनदेखि लोकतन्त्र, महिला अधिकार, मानव अधिकार र समानताका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै २०३७ सालमा प्राप्त गरेको सदस्यतालाई आस्था र विश्वासको प्रतीक ठहर गरिन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते प्रेस नोट जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरे पनि पछि पार्टी नेतृत्वकै सल्लाहमा पुनः सदस्यता नवीकरण गरेको स्पष्ट गरेकी छन् ।
भण्डारीका अनुसार २०८२ असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आफूले सदस्यता नवीकरण भएको औपचारिक घोषणा गरेकी थिइन् । त्यसअघि ओलीसँग भएको भेटमा पनि सो विषयमा छलफल भएको उनको भनाइ छ ।
तर पछिल्ला केही समययता पार्टीभित्रैका केही जिम्मेवार व्यक्तिहरूले आफ्नो सदस्यता नवीकरण नभएको भनी सार्वजनिक रूपमा प्रश्न उठाउन थालेपछि पार्टी परिवारमा अन्योल र जनतामा भ्रम फैलिएको भण्डारीको भनाइ छ । उनले भनेकी छन्– ‘मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने कुरा हाम्रो पार्टीले अंगीकार गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ ।’
सदस्यताको विवाद साँधुरो चिन्तनको उपज भएको बताउँदै उनले नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई स्वतन्त्रता, समानता र सहभागिताको मौलिक हक दिएको स्मरण गराइन् । पार्टी नेतृत्वको केही प्रवृत्तिले आफ्नो सदस्यतालाई अस्वीकार गर्ने वा निष्क्रिय देखाउने प्रयास लोकतान्त्रिक संस्कृतिविपरीत भएको उनको आरोप छ ।
भण्डारीले पार्टीभित्र व्यंग्य, घोचपेच र मर्यादाविपरीतका अभिव्यक्तिले संगठन कमजोर बन्ने चेतावनी दिँदै भनिन्– ‘हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ । सत्य र न्यायको आवाजलाई जीवन्त राख्नुपर्ने आजको आवश्यकता हो ।’
उनले विधान महाधिवेशनका प्रतिनिधिहरूले सदस्यता विवादलाई गम्भीरतापूर्वक लिएर पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन सहयोग पुर्याउने अपेक्षा समेत व्यक्त गरेकी छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया