समाजले सदाचार खोजेको छः प्रदेश प्रमुख भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । समाजले नैतिक मूल्य, मान्यता र सदाचारको खोजी गरेको उनको भनाइ छ ।
पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले यस्तो बताएका हुन् । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो,’ उनले भने ।
समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वद्र्धन र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उनले सारहना गरे ।
‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो,’ उनले थपे, ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’
हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने विचार राखे । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उनले खुसी प्रकट गरे ।
तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उनको भनाइ छ । ‘मानव मिलन संस्थाले जाति, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु,’ उनले भने ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया