धर्मस्थली सहकारीमा शारदाबहादुर थापा

समाधान संवाददाता २०८२ भदौ २१ गते १८:१४

पोखरा । पोखरा–५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले आगामी कार्यकालका लागि शारदाबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति गठन गरेको छ। निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

पुरुषोत्तमप्रसाद पराजुली संयोजक, शिवप्रसाद भण्डारी र केदारनाथ बराल सदस्य रहेको निर्वाचन समितिले शारदाबहादुर थापालाई अध्यक्षमा निर्वाचित गरेको थियो। समितिको उपाध्यक्षमा मैयादेवी पराजुली, सचिवमा बसन्तराज गौतम र कोषाध्यक्षमा बसन्तप्रसाद पराजुली चयन भए। यसैगरी, सञ्चालक समितिका सदस्यहरूमा शारदा तिमिल्सिना आचार्य, केदारप्रसाद पराजुली, राजेन्द्रप्रसाद भट्टराई र जगन्नाथ गौतम रहेका छन्। लेखा समितिको संयोजकमा हुमलाल लामिछाने तथा सदस्यहरूमा टिकाराम भन्तना र खेमराज कोइराला निर्वाचित भएका छन्।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णुप्रसाद बराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष मैयादेवी पराजुलीले स्वागत मन्तव्य प्रस्तुत गरिन्। संस्थापक अध्यक्ष कृष्णमणि भुर्त्यालले कार्यक्रमलाई शुभकामना मन्तव्य दिएका थिए। सचिव कृष्णप्रसाद कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए।

Advertisement

साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको संस्थाका प्रबन्धक कृष्णप्रसाद पराजुलीले जानकारी दिए। यो अधिवेशनले सहकारीको आगामी कार्यदिशा तय गर्न र सदस्यहरूको हितका लागि नयाँ योजनाहरू बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा धर्मस्थली सहकारीले अझ बढी प्रगती हासिल गर्ने अपेक्षा गरिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया