सिमलचौरमा विद्युतीय चार्जिङ स्टेसन

पोखरा । ऊर्जा वातावरण निर्माण तथा इन्जिनियरिङ प्रालिले पोखराको सिमलचौर (राष्ट्र बैंक मार्ग)मा आधा मेगावाट लोड क्षमताको सुपर–फास्ट हब विद्युतीय सवारी साधन (इभी) को चार्जिङ स्टेसन स्थापना गरेको छ ।
दिगो ऊर्जा च्यालेन्ज फन्डबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त परियोजना अन्तर्गत ४ सय किलोवाट क्षमताको अत्याधुनिक चार्जिङ स्टेसनले एकै पटकमा १० वटा विद्युतीय सवारी साधन चार्ज गर्न सक्ने प्रालिकी अध्यक्ष इन्दिरा शर्मा भण्डारीले जानकारी दिइन् । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले शनिबार सो स्टेशनको उद्घाटन गरे ।
प्रालिका अध्यक्ष भण्डारीका अनुसार नेपाल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत अनुदानमा २ करोड ४ लाखको लागतमा स्टेशन स्थापना भएको हो । बढीमा १५ रुपैयाँ प्रति युनिट (भ्याट सहित) चार्जको व्यवस्था गरिएको छ । गाडी चार्ज प्रालिसँगको साझेदारीमा गाडी चार्ज फ्रेन्चाइज मोडल अन्तर्गत स्थापना गरिएको हो ।
यसमा हुवावे कम्पनीको स्वामित्वयुक्त तरल पदार्थद्वारा चिसो पारिएको हब प्रविधि प्रयोग गरिएको अध्यक्ष भण्डारीले जनाइन् । मन्त्री देवकोटाले वातावरण सन्तुलन कायम गर्न विद्युतीय सवारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले ऊर्जाको क्षेत्रमा काम गर्न गण्डकी प्रदेशले विद्युत विकास विधेयक पास गरेको जानकारी दिए । संघीय सरकारले विद्युतीय सवारीको प्रवद्र्धनका लागि इभी चार्जिङ स्टेसनको गुरुयोजना निर्माण गरेको उल्लेख गर्दै उनले ४ सय २५ चार्जिङ स्टेशन निर्माण गर्न लागेको बताए ।
उनले प्रत्येक ३० किमीमा चार्जिङ स्टेसन स्थापना गर्नुपर्ने उल्लेख गरे । उनले निजी–सार्वजनिक अवधारणामा चार्जिङ स्टेसन स्थापना गर्नु पर्नेमा जोड दिए । चार्जिङ स्टेसनको गुणस्तरमा प्रश्न उठेको चर्चा गर्दै उनले गुणस्तर र दिगोपनमा ध्यान दिन कम्पनीलाई आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले हरित ऊर्जा र वातावरणमैत्री सहर निर्माण गर्ने क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो र आधुनिक इभी चार्जिङ स्टेसन स्थापना गरेको दाबी गरे । ५ वटा चार्जर रहेको स्टेसनले एकैचोटिमा एउटा गाडीलाई १ सय ८० किलोवाटसम्म ऊर्जा आपूर्ति गर्न सक्ने उनले उल्लेख गरे । उनले स्टेसन प्राविधिक हिसाबले सुरक्षित र भरपर्दो रहेको बताए ।
हुवावे कम्पनी नेपाल प्रमुख मिस्टर जिमले कम्पनीको प्राविधिक सहयोग रहेको चार्जिङ स्टेसन आधुनिक रहेको बताए । उनले स्टेसनबाट चिया कफी खाने समयमा सवारी चार्जिङ हुने जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधि प्रकाश भण्डारीले केन्द्रले १ सय २४ इभी गाडीको चार्जिङ स्टेशन निर्माणमा सहयोग गरेको बताए ।
गाडीचार्जका सहसंस्थापक तथा प्रमुख कार्यकारी निर्देशक प्रेशा श्रेष्ठले गाडी चार्जको राष्ट्रव्यापी योजना अन्तर्गत पोखरामा स्टेसन खोलेको जानकारी दिइन् । ‘गरौँ राष्ट्रलाई रिचार्ज’ भन्ने नाराका साथ पूर्वमा पथरीदेखि पश्चिममा धनगढीसम्म १ सय ५ भन्दा बढी इभी चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिँदै उनले देशव्यापी रूपमा चार्जिङ स्टेसनमार्फत समुदायमा पहुँचयोग्य र भरपर्दो इभी पूर्वाधार विस्तार गर्दै दिगो गतिशीलता प्रवद्र्धन गर्ने बताइन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया