लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा ९३ प्रतिशत मत खस्यो, आज मत गणना

समाधान संवाददाता २०८२ भदौ २२ गते ५:१०

लेखनाथ ।

लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१८ मतदातामध्ये ९३.०३ प्रतिशत मत खसेको हो ।

Advertisement

विहान ७ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चलेको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । दिनभर संघको परिसर व्यवसायीहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले भरिभराउ बनेको थियो । मतगणना आइतबार बिहान ७ बजेबाट सुरु हुने निर्वाचन आयुक्त खगेन्द्रराज आचार्यले जानकारी दिएका छन् ।

विगतका निर्वाचनमा भन्दा बढी चर्को चुनावी कसरत देखिएको यसपटकको अधिवेशनलाई व्यवसायी तथा राजनीतिक दलले विशेष चासोका साथ हेरेका छन् ।

Advertisement

कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन गर्दै उम्मेदवारहरूको प्यानल बनाएका थिए भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर अर्को गठबन्धनले पनि प्यानल खडा गरेका थिए । दुवै प्यानलले चुनावमा विजयी हुने दाबी गर्दै मतदाता व्यवसायीमाझ पुगेका थिए ।

संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा भने आमनेसामने भएका छन् । यी दुवै दलले प्रतिपक्षमा रहेका माओवादी र रास्वपालाई साथमा लिएका छन् ।

संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आ–आफ्नो टिमबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

ओझा समूहबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु), प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुंगाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेदवारी परेको थियो ।

यस्तै, खुला सदस्यमा घनश्याम ढुंगाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) रहेका छन् । महिला सदस्यतर्फ सपना सुवेदी र लक्ष्मी ठाकुर (सुनार), एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कंडेल उम्मेदवार बनेका छन् ।

अधिकारी समूहबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी उम्मेदवार बनेका छन् ।

यसै समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार उम्मेदवार बनेका छन् । संस्थागत सदस्य पदमा दुवै समूहका साझा उम्मेदवार वीरभद्र कंडेल निर्विरोध भएका छन् ।

तपाईको प्रतिक्रिया