‘फोहोर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’

समाधान संवाददाता २०८२ भदौ २२ गते १७:२८

पोखरा ।

‘सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहोर व्यस्थापन र सरसफाइ प्रवर्द्धन हो,’ कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली बजाए । प्रमुख हमालले भने, ‘फोहोर व्यवस्थापनमा जनशक्ति, स्रोतसाधन छैन भनेर गुनासो मात्र गरेर बस्ने होइन, हामीले फोहोर नै नगर्ने बानी बसाल्नुपर्छ ।’ उनको यो भनाइमा फोहोर व्यवस्थापनमा व्यापक सामुदायिक सचेतना र जनसहभागिताको खाँचो रहेको भाव थियो । 

फोहोर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकाले अपनाएको सीप, प्रविधि र असल अभ्यासबारे अनुभव  आदानप्रदानका लागि पुगेको पोखरा महानगरपालिकाको टोलीसमक्ष धनगढीका प्रमुख हमालले फोहोर व्यवस्थापनमा अन्तरपालिका समन्वय र सहकार्यमा जोड दिए । ‘पोखराले गरिरहेको काम हाम्रा लागि अनुकरणीय हुन सक्छ, धनगढीबाट पोखराले पनि सिक्न सक्छ,’ उनले भने, ‘कम प्राथमिकतामा परिरहेको फोहोर व्यवस्थापनलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । मान्छे र प्रकृति स्वस्थ र स्वच्छ भए मात्र अरू गतिविधि सही ढंगले अगाडि बढाउन सकिन्छ । 

Advertisement

‘हाम्रो धनगढी, सफा धनगढी’ र ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै फोहोरमैला व्यवस्थापन र हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरप्रमुख हमालले बताए । अवलोकन भ्रमणका लागि पुगेको महानगरपालिकाको टोलीले त्यहाँ सञ्चालनमा रहेको फोहोर व्यवस्थापनसम्बन्धी आयोजनाको स्थलगत अध्ययन तथा अवलोकन गरेको थियो । धनगढी– २, सरस्वतीनगरमा रहेको बायोग्यास प्लान्ट, फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र र निर्माणाधीन स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरिएको थियो । 

उक्त टोलीले धनगढी– ७, पटेलामा निर्माणाधीन एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको पनि अवलोकन गरको थियोे । करिब १ अर्बको लागतमा बन्ने उक्त आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको निर्माण कम्पनीले जनाएको छ । एसियाली विकास बैंकको सहुलियतदरको ऋण सहयोगमा संघ सरकार र उपमहानगरपालिका मिलेर उक्त केन्द्रको निर्माण सुरू गरेका थिए । ३० वर्षसम्म फोहोर व्यवस्थापन हुने गरी उक्त केन्द्र बन्न लागेको हो । 

Advertisement

उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले २२ हेक्टर क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको बताए । निजी कम्पनीको लगानीमा फोहोरबाट बायोग्यास प्लान्ट बनिसकेकाले छिट्टै व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ । उपमहानरपालिका, सेभ द चिल्ड्रेन र जेआईजेडको लगानी तथा सहकार्यमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको वातावरण अधिकृत अवस्थीले बताए । फोहोरको सूक्ष्म वर्गीकरण र प्रशोधनको जिम्मा पनि निजीक्षेत्रलाई दिइएको उनले जानकारी दिए । 

त्यस क्रममा सरसफाइमा नमुना काम गरेको स्थानीय आदर्श टोल र सर्वोदय माध्यमिक विद्यालयको पनि अवलोकन गरिएको थियो ।

हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत आफ्ना दिवंगत आफन्तजनको स्मृतिमा सडक किनारामा रूख रोप्ने अभियान अनुकरणीय लागेको पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’का सहजकर्ता नेत्र तिमिल्सिनाले बताए । ‘फोहोर व्यवस्थापनमा धनगढीले गरेको लगानी, सामुदायिक अभियान, नीतिगत र कानुनी संरचनाको कार्यान्वयन हाम्रा लागि पनि महत्त्वपूर्ण सिकाइ बन्यो,’ उनले भने, ‘धनगढीमा सफल भएका असल अभ्यासलाई पोखरामा पनि लागू गर्छौं ।’

शहरी क्षेत्रमा चुनौती बनेको फोहोर व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य हुनुपर्नेमा भन्दै तिमिल्सिनाले फोहोरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 

धनगढीमा प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि गु्ट्खालगायत एकपटक प्रयोग गरेर फाल्ने प्लास्टिकलाई प्रतिबन्ध लगाइएको छ । ९५ प्रतिशत फोहोर घरघरबाटै वर्गीकरण भएर फोहोर व्यवस्थापन केन्द्रमा आउने व्यवस्था मिलाइएको छ । 

फोहोरमैलाको दिगो समाधानका लागि व्यक्तिको व्यवहार परिवर्तन नै मुख्य कुरा हो भनेर धनगढीले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको तिमिल्सिनाको भनाइ छ । उनले भने, ‘विद्यालय र समुदाय परिचालनमा पनि धनगढीको अभ्यास राम्रो देखियो ।’ 

फोहोरमैला व्यवस्थापनमा नमुनायोग्य काम गरेका स्थानीय तहबीच असल अभ्यास आदानप्रदान गर्न गत सोमबारदेखि शुक्रबारसम्म गरिएको अवलोकन भ्रमणमा पोखरा महानगरपालिकाका कर्मचारी, परियोजनाका कर्मचारी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा पोखरा महानगरपालिकामा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालनमा छ । यसले हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहोरमैलाबाट सिर्जना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा टेवा पुग्ने जनाइएको छ । 

परियोजनाले फोहोर संकलन तथा ढुवानी र वर्गीकरणका लागि सामुदायिक सचेतना अभिवृद्धिको काम पनि गर्दै आएको छ । त्यसका लागि १३६ वटा टोल संस्था परिचालन गरिएको छ । सन् २०२४ देखि सुरू भएको उक्त परियोजना सन् २०२९ सम्म सञ्चालन हुने पोखरा महानगरपालिकाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया