रिचार्ज पोखरी निर्माणलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेशमा जलवायुमैत्री पानी व्यवस्थापन नीति संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रदेश तथा पालिका तहमा पानी र जलवायु सम्बन्धी विकास परियोजनाको अध्ययन, अभ्यास र सिकाइका आधारमा आगामी दिनमा नीतिगत मार्गनिर्देशन तय गर्ने उद्देश्यले गण्डकी प्रदेश नीति तथा योजना आयोग, नेपाल पानी सदुपयोग फाउन्डेसन (नेपासफा) र द एसिया फाउन्डेसनको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको थियो । पहिलो सत्र ‘नीति र प्राविधिक छलफल’ अन्तर्गत आयोगका उपाध्यक्ष डा. देवकोटाले ’प्रादेशिक नीति, रणनीति, कार्यक्रम, अभ्यास, चुनौती र अवसरहरूः जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन’ विषयमा कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा. ङमिन्द्र दाहालले वालिङ र गल्याङमा विगत एक वर्षदेखि गरिएको नीतिगत अध्ययन र अभ्यासको निचोड प्रस्तुत गर्दै आफ्नो संस्थाले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै रिचार्ज पोखरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए । काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक शिव विषण्खेले ‘प्राकृतिक स्रोत व्यवस्थापनमा प्रादेशिक तथा स्थानीय स्तरका नीति व्यवस्था र अवरोधहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
दोस्रो सत्र ‘नीति र ज्ञान आदानप्रदान’ पूर्व जलस्रोत मन्त्री प्रज्ञा दीपक ज्ञवालीको संयोजन तथा समरीकरणमा सम्पन्न भयो । यस सत्रमा वालिङ नगरपालिका योजना शाखा प्रमुख गणेश पौडेलले ‘वालिङमा पानी र विकाससम्बन्धी आकांक्षाहरूः प्रदेशसँग सहकार्यका क्षेत्रहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख थानापति न्यौपानेले गल्याङमा पानी र विकाससम्बन्धी योजनाबारे प्रस्तुति दिए भने गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै पालिकास्तरमा गर्न सकिने कामलाई सहज बनाउन आफू तयार रहेको धारणा राखे ।
भीरकोट, पुतलीबजार र आधिखोला गाउँपालिकाका प्रतिनिधिहरूले क्रमशः विचार र पालिकास्तरीय कार्य प्रस्तुत गरे । वन तथा वातावरण मन्त्रालयतर्फबाट पूर्णेश्वर सुवेदीले आधिखोला नदी उपत्यकासँग सम्बन्धित जलवायु, जलाधार तथा वन व्यवस्थापनमा प्रदेश र स्थानीय तहबीच सहकार्य प्रवद्र्धन गर्ने अवसर र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयतर्फबाट इन्जिनियर हरिदत्त पौडेलले आधिखोला नदी उपत्यकासँग सम्बन्धित ऊर्जा, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा सहकार्य प्रवद्र्धन गर्ने अवसर र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले गरेका थिए भने सहायक सचिव गीता घिमिरेले कार्यक्रम सञ्चालन गरिन् । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल कार्यक्रमका प्रमुख अतिथि थिए ।
दोस्रो सत्रको समरीकरण गर्दै पूर्वमन्त्री ज्ञवालीले नेपासफाले जलाधार–मात्रिक दृष्टिकोणमा सीमित नभई मुलाधार आधारित सर्वेक्षण, समुदाय अभिप्रेरणा र रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखेको कार्य नेपालमै अनुकरणीय रहेको टिप्पणी गरे । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव मोहन काफ्ले र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव डा. राजन भट्टराईले पनि मन्तव्य राखे ।
वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गर्दै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ देखि २०९२/९३ सम्मका लागि १० रणनीतिक कार्ययोजना तय गरिसकेको र उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले प्रदेशस्तरीय जलवायुमैत्री पानी व्यवस्थापन नीति संवादलाई स्थानीय तथा प्रदेश तहलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण कार्यक्रम भएको बताए ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया