चापापानी सिद्धार्थ सहकारी संस्थाको सभा

समाधान संवाददाता २०८२ भदौ २२ गते १९:०८

पोखरा । पोखरा १२ पुरानोधारमा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ साधारण सभा तथा प्रशिक्षण भएको छ ।

साधारणसभामा बोल्दै भूमि, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले अहिलेको अवस्थामा सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरूपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरे । वाग्लेले चापापानी सहकारीको वित्तीय अवस्था हेर्दा सहकारी निकै मजबुत रहेको पनि बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बजारमा सहकारीहरूको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी सहकारी बन्न सक्नुपर्नेमा जोड दिए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष नरेशबहादुर कार्कीले चापापानी सिद्धार्थ सहकारी संस्था कास्कीका औलामा गनिने सहकारीहरूमध्येमा चिनिने संस्था भएकोले सहकारीका सदस्यहरूले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए ।

Advertisement

सहकारीका अध्यक्ष दीपक कार्कीले अहिलेको विषम परिस्थितिमा विभिन्न सहकारीहरूले साधारणसभा समेत गर्न नसकिरहेको अवस्थामा चापापानी सिद्धार्थ सहकारीले आफ्ना सेयर सदस्यहरूलाई राम्रो मुनाफा दिइरहेको बताए । कार्यक्रममा सयपत्री सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर कार्की, पोखरापत्र दैनिकका सम्पादक शोभकान्त सिग्देल, संस्थाका सल्लाहकार डा. नगेन्द्र भण्डारी लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष दीपक कार्कीले अध्यक्षको प्रतिवेदन, सचिव इन्दिरा कोइरालाले सचिवको प्रतिवेदन, सहकारीकी व्यवस्थापक करुणा शाही कार्कीले सहकारीको वित्तीय अवस्था, ऋण लगानी समितिका संयोजक गुप्तबहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन, लेखा संयोजक चित्रप्रसाद दाहालले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

सहकारीका उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक मनोहारी पौडेलले सहकारीका सात सिद्धान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, त्यसैगरी सेयर सदस्यका छोराछोरीहरूमध्ये एसईई, प्लस टुमा, स्नातक, स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सचिव इन्दिरा कोइरालाले सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया