कर सहयोगीको भरमा नपर्नुस्, आफैं करबारे जानकारी राख्नुस् : प्रमुख कर अधिकृत ढुंगाना

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले उद्योगी–व्यवसायीलाई कर सहयोगीलाई मात्र भर परेर नबस्न र आफैं करसम्बन्धी जानकारी राख्न आग्रह गरेका छन् ।
ढुंगानाले भने, ‘करोडौं लगानी गर्ने उद्योगी–व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुपर्छ । कर सहयोगीलाई आफ्नो कर तिर्ने युजर नेम र पासवर्ड दिएर ढुक्क हुँदा तलमाथि परे मलाई थाहा छैन भनेर उम्कन पाइँदैन । हाम्रो कर प्रणाली भनेको आफैंले कर घोषणा गर्ने हो र तपाईंले गरेको घोषणा सच्याउन गाह्रो हुन्छ ।’
प्रमुख कर अधिकृत ढुंगाना पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थिए । अधिकांश उद्योगी–व्यवसायीले करसम्बन्धी जानकारी नलिने गरेको उनको भनाइ थियो ।
आन्तरिक राजश्व कार्यालय कसैको उजुरीको भरमा उद्योगी–व्यवसायीकहाँ अनुसन्धानको लागि भन्दै छापा हान्न नजाने जिकिर गर्दै उनले भने, ‘व्यापारमा प्रतिस्पर्धा हुन्छ, कसैको उजुरीको भरमा हामी कुद्दैनौं, अनुसन्धानपछिमात्र छापा हान्ने हो ।’ उनले अहिलेको कर प्रणालीमा ७५ प्रतिशत काम घरमै बसेर गर्न सकिने पनि बताए ।
‘अहिले फेसलेस (मान्छेबिना) सेवा छ । हिजो कर कार्यालय जाँदा लुगलुग काप्ने, गाडी चढेर गएको छ भने परै छाडेर जाने चलन थियो, अहिले त्यस्तो छैन,’ उनले थपे ।
ढुंगानाले आफू स्वच्छ काम गर्नका लागि गृह जिल्ला कास्कीमा प्रमुख कर अधिकृतको जिम्मेवारी लिन आएको र उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नु पहिलो प्राथमिकता भएको पनि बताए ।
कार्यक्रममा प्रमुख कर अधिकृतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी–व्यवसायीलाई कर तिर्न प्रोत्साहित गर्नु संघको दायित्व भएको बताए । ‘आन्तरिक राजश्व कार्यालय भनेको हामीले कर तिर्ने पहिलो ढोका हो, रक्तनली हो । हामी कर तिर्ने वातावरण निर्माणका लागि कर शिक्षालगायतका कार्यक्रम आयोजना गर्छौं,’ कार्कीले भने, ‘कर प्रशासनले उद्योगी–व्यवसायीलाई सहजीकरण गरिदेओस्, भूलवश भएका सानातिना कमजोरीमा आँखा नलगाओस् भन्ने हो ।’
सो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
पोखरा–२६, बुढीबजार घर भएका ढुंगाना १७ वर्षे निजामती सेवाको क्रममा गृह जिल्लाकै आन्तरिक राजश्व कार्यालयको कमाण्ड सम्हाल्न आएका हुन् । कर प्रशासनमा प्रायः कुनै पनि व्यक्ति आफ्नै गृह जिल्लामा प्रमुख भएर जाँदैनन् ।
ढुंगानाले भने, ‘कर प्रशासनका व्यक्तिहरु आफ्नो गृह जिल्ला आउन खोज्दैनन्, किनकि कहिलेकाहीँ कटु निर्णय पनि गर्नुपर्छ । म चाहिँ जोखिम मोलेर नै आएको हुँ । ठूला कर छली हुँदा जिल्लावासी भएकैले कसैलाई छाड्न मिल्दैन । सहजीकरणमा चाहिँ म तयार छु ।’









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया