जाने हाेइन त कोरी ? (फोटोफिचर)

प्रमिला कुँवर २०८२ भदौ २३ गते १४:२५

कोरी जानको लागि पोखराको काहुँखोलाबाट यात्रा सुरु हुन्छ । यहाँबाट सिक्लेस जाने जिप, बस पाइन्छ । प्रति जिपको ५ हजार रुपैयाँ भाडा तोकिएको छ । जसमा १० जना सम्म जान सकिन्छ । सिजनका बेलामा मान्छे सजिलै पाइन्छ भने अफ सिजनमा गाह्रो पर्न सक्छ ।


पहिलो दिन
३ घण्टामा सिक्लेस पुगिन्छ । सिक्लेसमा खाना खाएर यात्रा सुरु हुन्छ । यहाँबाट साढे एक घण्टा ओरालो बाटो झरेपछि पावर हाउस पुगिन्छ । त्यसपछि उकालो लाग्नुपर्छ । मोटरबाटो भएपनि यता सवारी साधन चल्न सकेको रहेनछ । बाटो सजिलै छ । वर्खाको बेलामा पानीको मुल थुप्रै पाइन्छ । पानीको समस्या छैन । टोडा भन्ने ठाउँमा टि हाउस छ । यहाँ चिया र खाजा खान सकिन्छ । यहाँबाट २ घण्टामा तसा खर्क पुग्न सकिन्छ ।


पहिलो रातको बसाई तसा खर्कमा हुन्छ । यहाँ बस्नको लागि प्याकेजको व्यवस्था छ । यहाँबाट सिक्लेस र ताङतिङ गाउँ देख्न सकिन्छ । यहाँका होटेलले गोठको भाइब्स दिन्छन् । बिहान यहाँबाट पनि हिमशृङखला देख्न सकिन्छ । रातको खाना, सुत्ने र बिहानको खाजा गरि प्याकेजको १५ सय रुपैयाँ पर्छ ।

Advertisement


दोस्रो दिन
तसा खर्कको होटेलमा अर्को दिनको बिहानको खाजा खाई कोरीतर्फको यात्रा फेरि सुरु हुन्छ । करिब ३ घण्टाको जंगलको यात्रा पछि खाना–खाजा को लागि च्येका ल्हि मा पुगिन्छ । च्येका ल्हिमा खाना–खाजा खाएपछि भने यात्रामा उकालो बाटोको सुरुवात हुन्छ । करिब ३००० देखि ३५०० मिटरको उचाइ चारै तिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा । ५/६ घण्टामा सजिलै कोरी पुग्न सकिन्छ यहाँबाट ।


तेस्रो दिन
बिहान सबेरै उठेर यहाँबाट देखिने मनमोहक दृश्य हेर्न सकिन्छ । आँखै अगाडी विशाल हिमाल देख्न पाउँदा सपना जस्तै लाग्छ । मनै लोभ्याउने, हरियाली, विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल । भेडाको बथाले थप सुन्दरता थपेको छ ।
सुन्दर ठाउँ, प्रकृति सुन्दरताले भरिपूर्ण, अझ भनौँ ’स्वर्ग’को एक टुक्रा हो कोरी क्षेत्र । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ । असारदेखि भदौसम्म यहाँ फुल्ने गर्छन् । मङ्सिर–पुसमा हिउँ खेल्न पर्यटक आउँछन् । कोरी पुगेका पर्यटकले प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साएको बताउँछन् ।

Advertisement


कोरीबाट ६,९८८ मिटर उचाइको लमजुङ हिमाल, ७,९३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, ६,९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र ८,१५६ मिटर उचाइको मनासलु हिमाल आँखै अगाडि देख्न सकिन्छ । जसले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ । कोरीमा होटेलको राम्रो व्यवस्था छ । यहाँ प्याकेजको २ हजार रुपैयाँ पर्छ जसमा रातको खाना, सुत्ने र बिहानको खाजा समावेश छ ।


तेस्रो दिन कोरीबाट फर्केर त्यहि दिन पोखरा फर्किन सकिन्छ । हतार हतार गरेर आउनु भन्दा विस्तारै आएर सिक्लेसमा बस्नु उत्तम हुन सक्छ । भोली पल्ट बिहानै जिप चढेर पोखरा फर्किन सकिन्छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया