जेन जी आन्दोलनमा बल प्रयोगपछि गृहमन्त्री राजीनामा, प्रधानमन्त्रीलाई पनि चर्को दबाब

समाधान संवाददाता २०८२ भदौ २३ गते २१:३२

काठमाडौं । जेन जीहरूको आन्दोलनमा भएको सरकारी दमनका कारण काठमाडौंसहित देशका विभिन्न सहरमा १९ प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले पदत्याग गरेका छन् । तर, जिम्मेवारी गृहमन्त्रीमात्र नभई प्रधानमन्त्री ओलीले पनि लिनुपर्ने माग विभिन्न दल र नेताबाट उठ्न थालेको छ ।

Advertisement

विपक्षी दल मात्र होइन, सत्तारूढ दलका कतिपय नेताहरूले समेत प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । उनीहरूका अनुसार प्रधानमन्त्रीबाट राज्य सञ्चालन निरंकुश शैलीमा भइरहेको छ र यसले सरकारको औचित्य समाप्त भएको छ ।

प्रमुख प्रतिपक्षी माओवादीले आन्दोलनमा गोली चलाएर डेढ दर्जन युवाको ज्यान जाने र सयौं घाइते हुने अवस्थाले सरकारको औचित्य गुमाएको बताएको छ । उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले युवामाथि गोली प्रहार गरेर जनआन्दोलन–२ भन्दा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्रीले पद छोड्नुपर्ने माग गरे । उपमहासचिव वर्षमान पुनले समेत घटनाको जिम्मेवारी प्रधानमन्त्री ओली र मन्त्रिपरिषद्ले लिनुपर्ने बताए ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकार अब वैधता गुमाइसकेको दाबी गर्दै प्रधानमन्त्रीले राजीनामा गरेर तत्काल निर्वाचनमा जानुपर्ने माग गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने पनि बताए ।

राप्रपाले ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग गरेर सरकारले आफ्नो सर्वसत्तावादी चरित्र उदांगो पारेको बताए ।

Advertisement

यस्तै, कांग्रेस नेता शेखर कोइरालाले हातमा किताब–कापी बोकेका विद्यार्थीहरूमाथि गोली प्रहार गर्नु सभ्य समाजमा अकल्पनीय भएको भन्दै सरकारको कडा आलोचना गरे । एमाले सांसद विद्या भट्टराई र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पनि गृहमन्त्री मात्रै नभई प्रधानमन्त्री ओलीले नै राजीनामा गर्नुपर्ने माग राखे ।

प्रतिपक्षी एकीकृत समाजवादीले दुई दर्जन नागरिकको ज्यान जाने र सयौं घाइते हुने अवस्थापछि सरकारमा बसिरहने ओलीको नैतिकता समाप्त भएको बताउँदै तत्काल प्रधानमन्त्री र गृहमन्त्री दुवैको राजीनामा माग गरेको छ । पार्टीले आन्दोलनलाई हिंसा र मुठभेडमा परिणत हुन नदिन पनि युवाहरूसँग अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया