जेन-जी आन्दोलनमा दमनको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले दिए सामूहिक राजीनामा

समाधान संवाददाता २०८२ भदौ २४ गते १४:१९

काठमाडौं ।  देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रूर राजनीतिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतामाथिको हननविरुद्ध जेन-जी पुस्ताले गरेको आन्दोलनमा सरकारले बर्बर दमन गरी दर्जनौं युवाहरूको ज्यान लिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सामूहिक राजीनामाको घोषणा गरेको छ। संसदीय दलको नेता रवि लामिछानेको नेतृत्वमा रास्वपाका सबै प्रतिनिधिसभा सदस्यहरूले राजीनामा दिने निर्णय गरेका हुन्।

रास्वपा संसदीय दलले जारी गरेको विज्ञप्तिमा निहत्था युवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा सरकारले गरेको ‘आमहत्या’को घोर निन्दा गर्दै यसलाई ‘आततायी शासन’को संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।”

वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकाल्दै रास्वपाले देहाय बमोजिमका मागहरू अघि सारेको छ:

Advertisement

१. प्रधानमन्त्रीको तत्काल राजीनामा: सरकारले युवा प्रदर्शनकारीमाथि गरेको दमनको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग।
२. उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन: घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने।
३. सर्वपक्षीय नागरिक सरकार: देशलाई निकास दिन सर्वपक्षीय नागरिक सरकार गठन गरिनुपर्ने।
४. दोषीमाथि कडा कारबाही: प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग।
५. संविधान संशोधन प्रक्रिया आरम्भ: वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न संविधान संशोधनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने।

रास्वपाले वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुगेको जनाएको छ। आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै रास्वपाले सरकारबाट हत्या गरिएका जेन-जी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। घाइते भएका सबैको शीघ्र एवं निःशुल्क उपचारको पक्षमा आफूहरू रहेको र देशको मुख्य सम्पत्ति जेन-जीको माग र अपेक्षामा पूर्ण समर्थन तथा निरन्तर आन्दोलनमा रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Advertisement

राजीनामा दिने सांसदहरूमा संसदीय दलको नेता रवि लामिछाने, कार्यवाहक सभापति तथा संसदीय दलका पूर्वनेता डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, निशा डाँगी, मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, सोबिता गौतम, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, प्रा.डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली, बिनिता कठायत र विन्दवासिनी कांसकार रहेका छन्।

यो सामूहिक राजीनामासँगै देशको राजनीतिमा थप उथलपुथल आउने देखिएको छ।

तपाईको प्रतिक्रिया