सत्ता हठले निम्त्याएको युगकै ठूलो क्षति, राज्य निकम्मा, आन्दोलन नियन्त्रणबाहिर, सुरक्षा जिम्मा सेनामा

पोखरा ।
सामाजिक सञ्जालमा लागेको प्रतिवबन्ध फूकुवाका साथै भ्रष्टाचार विरुद्ध जेन जीले अभियान थालेको दोस्रो दिनमै मुलुकमा सत्ता पलट भएको छ । पहिलो दिन १९ जना प्रदर्शनकारीको ज्यान गएपछि दोस्रो दिन आन्दोलनले उग्र रुप लियो । दोस्रो दिन प्रधानमन्त्रीले त राजीनामा दिए नै सुरक्षा निकायले पनि तदारुकता देखाउने अवस्था रहेन ।
जसका कारण राजधानी काठमाडौं र पोखरा लगायत सहरका अधिकांश सरकारी कार्यालयसहित नेता तथा व्यवसायीका निजी सम्पतिमा तोडफोड र आगजनी भएको छ । सत्ताको नेतृत्वले नागरिकतहको असन्तुष्टि स्वीकार नगर्दाको परिणाम मुलुकले कहिल्यै नभोगेको क्षति भोगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डको लज्जापूर्ण बहिर्गमन भएको छ । जेनजीको आन्दोलन मंगलबार पोखरा र काठमाडौंमा हिंस्रक रूप लिँदा संसद् भवनदेखि प्रमुख नेताका निजी निवास र सरकारी कार्यालयहरू जलेर ध्वस्त भएका छन् ।
अहिले सुरक्षाको नेतृत्व नेपाली सेनाले लिएको छ । राजनीतिक भविष्य कता मोडिने हो कसैले अनुमान गर्न सकेको छैन । राजनीतिक विश्लेषकहरु संघीय लोकतान्त्रिक व्यवस्थालाई नै सुधार गरेर लैजानुपर्ने सुझाव दिएका छन् ।
त्यसो त जेन जीले आन्दोलन शान्तपूर्ण हुने बताइए पनि घुसपैठका कारण अत्यधिक क्षति भोग्नु परेको छ । पोखरामा आगजनीमा उत्रेको समूह हातमा खुँडा र खुकुरी सहित अन्य हतियार लिएर ट्रिपर, ट्रक र मोटरसाइकलमा एकपछि अर्को कार्यालयमा पुगेका थिए । जहाँ प्रहरीको उपस्थिति शून्य थियो ।
पोखरामा बिहान करिब ९ बजेदेखि सुरु भएको आन्दोलन साँझसम्मै नियन्त्रणबाहिर रह्यो । पोखरा महानगरपालिका कार्यालय अगाडि प्रदर्शनकारीले सबैभन्दा पहिला टायर बालेर विरोध जनाएका थिए । सो क्रममा प्रहरीसँग झडप हुँदा अश्रुग्यास प्रहार र हवाई फायरसमेत भयो । प्रहरीले चलाएको गोली लागेर एक जना आन्दोलनकारी घाइते भई अस्पताल लगिएको थियो ।
बिहानदेखि नै आक्रोशित प्रदर्शनकारीले पोखरा महानगरपालिका मात्र नभई वडा ८, वडा ५, वडा ३, वडा १, वडा १२, वडा १५, वडा ११, वडा २ र वडा ४ का कार्यालयमा समेत आगजनी र तोडफोड गरे । राति न्यूरोडस्थित भाटभटेनीको भवनमा आगो लगाइयो भने लेकसाइडस्थित बगैँचा रिसोर्टलगायत केही होटलमा आक्रमण गरिएको थियो ।
सहिदचोक क्षेत्रमा रहेका अधिकांश सरकारी निकाय लक्ष्य बने । गण्डकी प्रदेश सभा सचिवालय र प्रदेश प्रशिक्षण कार्यालयमा आगजनी गरियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास र प्रदेश प्रमुखको निवाससमेत जलाइयो । जिल्ला प्रशासन कार्यालय र छेउमै रहेको प्रदेश नीति तथा योजना आयोगको कार्यालय पनि ध्वस्त बने ।
प्रदर्शनकारीले गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा र पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा समेत आगजनी गरे । एमाले गण्डकी प्रदेश कार्यालय, एमाले कास्की जिल्ला कार्यालय, नेपाली कांग्रेस कास्की जिल्ला कार्यालय, कास्की जिल्ला अदालत, वन तथा वातावरण मन्त्रालयजस्ता कार्यालयसमेत जलेर क्षतिग्रस्त बने ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नवलपुरस्थित घरमा तोडफोड गर्दै सामान बाहिर ल्याई जलाइयो । त्यस्तै, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको पोखरा–१२ स्थित निजी घरमा क्षति पुर्याइयो । गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय खाली गराएर आगो लगाइयो । त्यसअघि, प्रदर्शनकारीले डोजर प्रयोग गरेर भवन ढाल्ने प्रयास गरेका थिए तर प्रहरीले अश्रुग्यास प्रहार गरी तितरबितर बनाएको थियो ।
त्यसैदिन बेलुकी करिब साढे ७ बजे कास्की कारागारसमेत तोडफोड भयो । जेनजी आन्दोलनकारीको सहयोगमा भित्रैका कैदीबन्दी बाहिर निस्किएपछि करिब ७ सय ७३ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा पनि अवस्था उस्तै रह्यो । सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायत प्रमुख सरकारी कार्यालयमा आगो अझै दन्किरहेको छ ।







‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीमा परशुराम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया