तोडफोड र आगजनी भएका ठाउँमा ‘जेनजी’ को सफाइ अभियान

समाधान संवाददाता २०८२ भदौ २५ गते १६:१०

काठमाडौं । परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

आज विगत दुई दिनभन्दा अलि फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिए । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय भए ।

उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका देखिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार वरिपरि उल्लेख्य संख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारका चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरे । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरे ।

Advertisement

माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ ।

यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट संकलित फोहर संकलन गरिएको छ ।

Advertisement

सडक, सडक किनार र सार्वजनिक निकायका गेट वरिपरि छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाए । साथै उनीहरूले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाए ।

सर्वोच्च अदालत परिसरमा सरसफाइ गरिरहेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरे । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रका सडकमा पनि सरसफाइ गरे । रासस

तपाईको प्रतिक्रिया