कांग्रेसको निष्कर्ष : कानुनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलबीच तत्काल संवाद आवश्यक
काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले मंगलबार जारी गरेको विज्ञप्तिमा देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्ता गतिविधि चाहेका नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर, निजी सम्पत्ति, उद्योगव्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने निश्चित छ ।’
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेतामाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी छ । कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’
लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस लोकतन्त्रका लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनर्स्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय योगदान दिन आवश्यक छ ।’
जेनजी आन्दोलनका क्रममा भएका दुःखद घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया