कांग्रेसको निष्कर्ष : कानुनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलबीच तत्काल संवाद आवश्यक
काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले मंगलबार जारी गरेको विज्ञप्तिमा देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले यस्ता गतिविधि चाहेका नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर, निजी सम्पत्ति, उद्योगव्यवसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने निश्चित छ ।’
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेतामाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी छ । कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’
लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस लोकतन्त्रका लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनर्स्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय योगदान दिन आवश्यक छ ।’
जेनजी आन्दोलनका क्रममा भएका दुःखद घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया