कोरला नाका पूरै सञ्चालनमा, चिनियाँ स्याउ आयात प्रतिबन्ध

सुन्दरकुमार थकाली २०८२ भदौ २६ गते १४:०८
फाइल तस्बिर

जोमसोम । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ । आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको नाकाबाट चिनियाँ स्याउ आयात नगर्ने सहमति भएको छ ।

सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकारवालाको बैठकले कोरला नाकाबाट चिनिया स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र जिल्लाभित्र र बाहिरका व्यापारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कोरला नाकाबाट चिनियाँ स्याउ आयात हुँदा स्थानीय स्याउ किसानलाई मर्का पर्ने भएकाले यस प्रकारको मौखिक सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । ‘यहाँको नाकाबाट चिनियाँ स्याउ ल्याउदैनौं भनेर व्यापारीले भनेका छन्, हामीले पनि यहाँको नाकाबाट स्याउ आयात नगरिदिनोस् भनेर अनुरोध गरेका हांै,’ अध्यक्ष विष्टले भने, कोरला नाकाबाट चाइनिज स्याउ आयात हुँदा मुस्ताङको स्याउको बजारिकरणमा ठूलो क्षति पुर्‍याउँछ भनेका थियौं, यसले यहाँको स्याउ खेती गर्ने किसानलाई समेत निरुत्साहित तुल्याउने निश्चित छ ।’’

Advertisement

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले अहिले यहाँको नाकाबाट सामान आयात गर्न केही व्यापारीहरु आउनु भएको छ, यसैले स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेका हौं,’ अध्यक्ष गुरुङले थपे, ‘विस्तारै यहाँको नाकाबाट सामान आयात गर्ने व्यापारी उपस्थित भएको अवस्थामा यसलाई स्याउ ल्याउन नपाइने लिखित निर्णय गरिने सहमति भएको छ ।’

यसअघि सामान्य रुपमा उपल्लो मुस्ताङका लागि मात्रै खुला भएको कोरला नाका आइतबार रुपमा पूर्ण रुपमा सञ्चालनमा आएसँगै यहाँका स्थानीय व्यापारीले पनि कोरला नाकाबाट चाहे अनुसारको सामान ल्याउन र लैजान पाउने सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । यहाँको भन्सार कार्यालयले यहाँ र विभागको अनलाइन प्रणालीमा जाडिसकेको जनाएको र यहाँबाट सामान ल्याउन चाहने व्यापारीले भन्सार विभागले तोकेको निवेदन फारम पेश गर्नुपर्ने जनाइएको छ ।

Advertisement

यसबाट उपल्लो मुस्ताङका व्यापारीहरु उत्साहित भएका छन् । लोमान्थाङ ३ ठिङ्गरका स्थानीय व्यापारी कर्मसम्टुक गुरुङले नाका पूर्ण रुपमा खुला गरिएकोमा खुसी प्रकट गरे । यसले आयआर्जनमा टेवा पुग्ने उनको भनाइ छ ।

कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई खुला गरिएको थियो । नाका खुलेपछि स्थानीय व्यापारीले सानो परिमाणमा सामान आयात गर्दथे । अब भने भन्सार विभागको नियममा रहेर चाहे जति चिनिया मालसामान नेपाल ल्याउन पाइने भएको छ ।

यहाँका स्थानीय उत्पादन पनि सिमापारी तिब्बती बजारमा लैजान पाउने गरी सहज व्यवस्था मिलाइएको छ । कोरला नाका रसुवागढी नाका र तातोपानी नाका बाढी पहिरोले अवरुद्ध भएपछि वैकल्पिक नाकाको रुपमा विधिवत सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । यहाँको कोरला स्थित मुस्ताङ भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने उनले जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया